खेलकूद

भलिबलका गुरु : कुमार राई (भिडियो रिपोर्टसहित)

२०७९ माघ २५ गते २०:२६
भलिबलका गुरु : कुमार राई (भिडियो रिपोर्टसहित)

२५ माघ २०७९ काठमाडौं । न्यू डायमण्ड युथ स्पोर्टस् क्लबले पहिलो पटक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जित्दा टोलीका नायक बने क्लबका प्रशिक्षक कुमार राई ।

घरेलु प्रतियोगितामा विभागीय टोलीको दबदबा तोड्दै क्लबका रुपमा उभ्याउनु कम चुनौतीको विषय थिएन । त्यसमाथि विद्यालय स्तरदेखि नै महिला भलिबल खेलाडी उत्पादन गर्दै देशका अधिकांश प्रतिष्ठित प्रतियोगिताको उपाधि जित्नु आफैमा ठूलो सफलता हो । त्यसैले त नेपाली महिला भलिबलको प्रसंगमा छुटाउनै नमिल्ने नाम बनेका छन् कुमार राई ।

कुमार राई, न्यू डायमण्ड युथ स्पोर्टस् क्लबका भलिबल प्रशिक्षक । पेशाले न्यू डायमण्ड एकेडेमीका संचालक तथा प्रिन्सिपल भएपनि उनको अधिकांश समय भलिबलमै बित्ने गर्दछ । डेढ दशकदेखि महिला भलिबल खेलाडी उत्पादन गर्दै क्लबलाई देशकै स्थापित भलिबल टोलीको रुपमा चिनिनुको पछाडि उनै राईको निरन्तर लगावको प्रतिफल हो ।

युवा उमेरदेखिनै भलिबल खेल्ने उनी काठमाडौं आएपछि २०४८ सालदेखि शिक्षण पेशामा लागे। तर भलिबल प्रतिको लगावले उनलाई २०५७ सालदेखि भलिबल प्रशिक्षक बन्न प्रेरित गर्यो। २०६२ सालमा उनले न्यू डायमन्ड एकेडेमीको स्थापना गरे पछि पुरुष भलिबल टोली निर्माण गर्ने योजना बुने । तर सोचे जस्तो सफलता नपाएपछि राई महिला टोली निर्माण गर्ने सोचमा पुगे । तर त्यो समय स्कुले छात्रालाई भलिबलमा आकर्षित गर्न सहज थिएन।

विद्यालयमा पढ्दै गरेका साना किशोरीहरुको टोली लिएर प्रतियोगितामा भाग लिन जाँदा उनी हाँसोको पात्र बन्थे । तर लक्ष्यमा दृढ रहेका उनी भलिबलबाट अन्यत्र मोडिएनन् ।

नेपालमा भलिबलमा थुप्रै क्लबहरु संचालनमा आए र बन्द पनि भए । अझ विभागीय टोली बाहेक महिला भलिबल टोलीको अवस्था त झनै कमजोर छ । तर जसोतसो टोली अघि बढाइरहेका राईको बुझाईमा निरन्तर संघर्षको प्रतिफल न्यू डायमण्ड आजको अवस्थामा आएको हो ।

राईले आफ्नो प्रशिक्षणमा ३ दर्जन भन्दा बढी खेलाडी उत्पादन गरिसकेका छन् । ५ जना खेलाडीले त राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्यका रुपमा स्थापितनै भए । रमिला तण्डुकार, रेश्मा भण्डारी, कृपा अधिकारी, प्रतिभा माली र सलिना श्रेष्ठ राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य हुन् भने रमिला हाल विदेशमा छिन् ।

सानै उमेरदेखीनै राईकै प्रशिक्षणमा हुर्किएका खेलाडीहरु उनलाई प्रशिक्षकमात्र भन्दा पनि अभिभावककै रुपमा लिन्छन् ।

बुधबारमात्र एपीएफ क्लबको विरासत तोड्दै न्यू डायमण्डले पहिलो पटक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जित्यो । यसअघिका सबै संस्करणको उपाधि जितेको एपीएफको विरासत तोड्नु सहज थिएन । र, यो जितले राईलाई प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक समेत बनायो ।

राई यतिमै रोकिन चाहँदैनन् । अन्तर्राष्ट्रिय व्यवसायिक भलिबलमा नेपाली खेलाडी सफल भएको हेर्ने उनको ठूलो धोको छ ।

उमेरले ५० कटेका राई अझैपनि दैनिक मैदानमा २ समय खेलाडीलाई प्रशिक्षण गराउने र नयाँ खेलाडी तयार पार्न लागिरहेका छन् । पछिल्लो समय उनको व्यस्तता भने आफ्नै क्लबको प्रशिक्षण केन्द्र सहितको एकेडेमी निर्माणमा छ । जुन अन्तिम चरणमा पुगिसकेको छ । नेपाली महिला भलिबललाई आजको स्तरमा ल्याउने एक भरपर्दा सारथी राई सम्पूर्ण खेल क्षेत्रका लागि प्रेरणा बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्