कांग्रेसविरुद्ध ओलीको यस्तो आक्रोश (भिडियो रिपोर्टसहित)

२२ माघ २०७९ काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसमाथि खनिनु भयो ।
आइतबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै ओलीले कांग्रेसले देशको राजनीतिलाई अस्थिर बनाउन खोजेको आरोप लगाउनुभयो । तर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेको भने बचाउ गर्नुभयो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनपछि प्रतिपक्षमा पुगेको कांग्रेसलाई अहिले निकै सकस भएको आरोप लगाउनुभएको छ । प्रतिपक्षमा पुगेपछि कांग्रेस पानी बाहिरको माछाजस्तै छट्पटाइरहेको उहाँले बताउनुभयो ।
यतिमात्र होइन उहाँले कांग्रेसले अहिलेको सत्ता गठबन्धनभित्र खेल्न खोजेर अस्थिरता निम्त्याउन खोजेको आरोप लगाउनुभयो । सरकारलाई विश्वासको मत दिएपछि कांग्रेसका नेताहरूले खुलेरै ढोक्सा थापेको ओलीको भनाइ थियो ।
कांग्रेसले देशको विकास न देखेको र न सोचेको भन्दै ओली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले देशको अर्थतन्त्र तहसनहस बनाएको आरोप पनि लगाउनुभयो । उहाँले यो सरकारभन्दा राम्रो गर्ने अर्को कुनै वैकल्पिक शक्ति नभएको दाबी समेत गर्नुभयो । सम्बोधनका क्रममा ओलीले २०७४ मा बनेको आफू नेतृत्वको सरकारले गरेका विभिन्न कामहरूको पनि चर्चा गर्नुभयो ।
सम्बोधनका क्रममा अध्यक्ष केपी ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको भने निकै बचाउ गर्नुभयो । सर्वोच्च अदालतको फैसलाले स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई अन्याय भएको बताउनुभयो । सर्वोच्च अदालतको फैसलाबाट कसलाई न्याय भयो भन्दै उहाँले प्रश्नसमेत गर्नुभयो ।
रवी लामिछानेसँग आफ्नो कुनै पनि सम्बन्ध नभएको भन्दै उहाँले केही प्रक्रियागत त्रुटि हुदाँ लामिछानेले सांसद, पार्टी अध्यक्ष, गृहमन्त्री, उपप्रधानमन्त्री गुमाएको चिन्ता व्यत गर्नुभयो ।
प्रतिक्रिया