Main News

अदालतको फैसला के हो पूर्णपाठ ? (भिडियो रिपोर्टसहित)

२०७९ माघ २२ गते २१:३३
अदालतको फैसला के हो पूर्णपाठ ? (भिडियो रिपोर्टसहित)

२२ माघ २०७९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध नागरिकताको विषयमा परेको रिटमा सर्वोच्च अदालतबाट संक्षिप्त आदेश आइसकेपछि उहाँको सांसद पद र उपप्रधान एवं गृहमन्त्री पद खारेज भयो ।

अदालतको संक्षिप्त आदेशपछि उहाँले नागरिकता पुन प्राप्ति पनि गरिसक्नु भएको छ । नागकिरता प्राप्तीपछि उहाँले गृहमन्त्रालयमै फर्किन प्रयास गरेको थियो तर प्रधानमन्त्री पुष्पकमल दाहालले अदालतको पूर्णपाठ नआएसम्म लामिछानेलाई गृह नदिने अडान लिएका समाचार बाहिरिए । आखिर के हो र किन महत्वपूर्ण बन्यो त फैसलाको पूर्णपाठ ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुरानै नागरिकता प्रयोग गरी उम्मेदवारी दर्ता गराएको र विजयी भएर सांसदसंगै उपप्रधान मन्त्री बनेकाले उहाँ विरुद्ध सर्वोच्च अदालतमा रिट पर्यो । संवैधानिक इजलाशले लामिछानेले नागरिकता पुन प्राप्तिका लागि प्रक्रिया पुरा नगरेको ठहर गर्दै दुवै पदमा बस्न नमिल्ने फैसला गर्यो ।

सर्वोच्च अदालतले संक्षिप्त आदेश जारी गरेसंगै उहाँ पदमुक्त हुनु भयो । अदालतको आदेशपछि उहाँले जिल्ला प्रशासन कार्यालय काठमाडौमा निवेदन दिएर पुन नागरिकता पनि प्राप्त गर्नु भयो । नागरिकता प्राप्त गरेसंगै हतार हतार पार्टीको सभापतिमा पुर्नबाहली भएका लामिछानेले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर गृहमन्त्रीमा पुर्नबहाली गर्न माग गर्नु भयो ।

उहाँको मागमा एमाले अध्यक्ष ओली तयार भए पनि प्रधानमन्त्री प्रचण्ड तयार हुनु भएन । सर्वोच्च अदालतको पूर्णपाठ आइनसकेको कारण देखाउँदै तत्कालका लागि गृह मन्त्रालय आफैंसंग राख्नु भयो । तर एमाले अध्यक्ष ओलीले भने पूर्णपाठ भनेको रातभरि पाठ गर्ने हो भन्दै अदालतको आदेशको पूर्णपाठकै बिषयमा प्रश्न उठाउनु भयो ।

अदालतको फैसलाको संक्षिप्त र पूर्णपाठको आफ्नै महत्व छ । कुनै पनि आदेशको विस्तृत विवरण नै पूर्णपाठ हो । अदालतले पूर्णपाठ जारी गरेपछि मात्रै आदेशका सम्बन्धमा सम्पूर्ण तथ्यहरु जानकारी पाउन सकिन्छ । अदालतले रिट निवेदनमाथि उठेका सम्पूर्ण प्रश्नको जवाफ समेटेर पूर्णपाठ जारी गर्छ ।

त्यसो भए संक्षिप्त आदेश भएको कति समयमा पूर्णपाठ आउँछ त ? आदेश भएको हप्तादिन भित्रमा पूर्णपाठ सार्वजनिक गर्नुपर्ने भए पनि कहिले काँही बढी समय लाग्न सक्ने देखिन्छ । कतिपय मुद्दाको पूर्णपाठ आउन ६ महिनासम्म लागेको उदाहरण पनि छन् ।

लामिछानेको हकमा रिट निवेदकले सांसद पद र मन्त्री पदका बिषयमा मात्रै प्रश्न उठाए पनि पूर्णपाठले लामिछानेका विरुद्ध उठेका अन्य प्रश्नका बिषयमा पनि थप आदेश दिन सक्ने कानुनका जानकार बताउँछन् । जस्तो उहाँको बिषयमा दोहोरो नागरिकताको प्रश्न छ भने पुरानो नागरिकता प्रयोग गरेका अन्य कामका बिषयमा के हुन्छ भन्ने आम चासो छ । यी र यस्तै प्रश्नको जिज्ञासा मेटाउन पनि पूर्णपाठ प्रतीक्षाको विषय बनेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *