Main News

रविको राहदानी छानबिन : पूर्व हाकिमप्रति प्रहरी किन नरम ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ २१ गते १८:२५
रविको राहदानी छानबिन :  पूर्व हाकिमप्रति प्रहरी किन नरम ? (भिडियो रिपोर्टसहित)

२१ माघ २०७९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा नेपाल प्रहरी उदासिन बन्दा प्रहरी संगठनको काम, कर्तव्य र अधिकारमाथि नै प्रश्न उठेको छ ।

कानून उल्लंघनको लामो फेहरिस्ता हुँदा–हुँदै प्रहरी लामिछानेको मुद्दामा निरीह बनेको छ । यसैबीचमा एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ आदेश जारी गरेको र नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई पनि पक्राउ गरेको प्रहरीले के कारण लामिछानेको मुद्दामा हात हाल्न सकेन ? सामान्य नागरिकले यति कानून उल्लंघन गरेको भए आज हिरासतमा हुन्थ्यो कि बालुवाटार र बालकोटमा ? गम्भिर प्रश्न उठेको छ ।

नेपालको कानून कार्यान्वयन गर्ने निकाय शक्तिको अघि कर्तव्यबाट च्यूत हुँदाको परिणतिका रुपमा रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको मुद्दालाई लिन सकिन्छ । संविधान, कानुन र विधि पालना गराउने निकायको निकम्मापन र चाकडीका कारण लामिछानेको नागरिकता र राहदानी मुद्दालाई सरकारी निकायबाट फिका बनाउन खोजिएको आरोप छ ।

१३ वर्ष अघि ट्र्याक्टर जलाएको मुद्दामा जननिर्वाचित एक सांसद अरुणकुमार चौधरीलाई पक्राउ गर्न उत्ताउलो नेपाल प्रहरी फर्जी नागरिकता प्रयोग गरेको प्रमाणित भएपछि पनि आफ्ना पूर्व हाकिम रवि लामिछानेविरुद्ध उजुरीसम्म पनि लिन नमानेर गजधम्म बसेको छ ।

विगत ९ वर्षदेखि खारेज भएको नागरिकता लिएर दुरुपयोग गरेका लामिछानेलाई हिरासतमा लिएर पक्राउ गर्न सक्ने कानुनी हैसियत भए पनि राज्य कोषको तलब खाएर बसेको प्रहरी उनैलाई सलाम ठोकेर बसेको छ । हुनतः एम्बुलेन्सबाट घाइते प्रहरी थमन बिक थुतेर हत्या गरेको अभियोग लागेका सांसद लक्ष्मी कोइरीलाई पनि पक्राउ गर्नुको साटो कानमा कपास हालेर लोकलाज छोपेको प्रहरी निकम्मा साविबित हुँदै गएको आरोप छ ।

लामिछानेको मुद्दा त सामान्य नागरिकका हिसाबले पनि हिरासतमा राखेर अनुसन्धान लायक छ ।

कानून उल्लंघनको फेहरिस्त–
१. नेपालको संविधान अनुसार अर्को देशको नागरिकता लिएपछि स्वतः रद्द हुने नागरिकता प्रयोग गरिरहे ।
२. दुईवटा नागरिकता बोक्नु आफैंमा अपराध भए पनि खुलेआम कानूनको धज्जी उडाए ।
३. अमेरिकाको नागरिकताको आधारमा अमेरिकी पासपोर्ट लिए अनि रद्द भएको नेपाली नागरिकता प्रयोग गरेर नेपाली पासपोर्ट पनि लिए ।
४. एकैचोटी अमेरिका र नेपालको नागरिकता र पासपोर्ट बोकेर ढुक्क दुरुपयोग गरिरहे ।
५. अमेरिकी नागरिकका रुपमा फेमिलि भिसामा नेपाल आएर काम गरे ।
६. कानून र संविधानलाई सोझा जनताको भावनामाथि सेन्टिमेन्टल ब्ल्याकमेल गरेर अमेरिकी नागरिकता त्यागेको घोषणा गरे तर नेपाली नागरिकता लिने प्रक्रिया पूरा गरेनन् ।
७. नेपाली नागरिकता नलिइकन कम्पनी दर्ता, व्यापार, विवाह दर्ता गरे ।
८. खारेज भएको नागरिकता प्रयोग गरेर पार्टी दर्ता गरे, चुनाव लडे र जिते ।
९. नेपाली नागरिकता नै नभएको व्यक्ति गृह तथा उपप्रधानमन्त्री भएर मुलुकको संवेदनशील स्थानमा ३२ दिन बसे ।
१०. खारेज भएको नक्कली नागरिकता प्रयोग गरेर लिएको पासपोर्ट लिएर विश्व घुमिरहे ।

अब प्रहरीलाई प्रश्नः
१. तपाईंको पूर्व हाकिमबाहेकले दोहोरो पासपोर्ट प्रयोग गरेको मुद्दा परे तत्काल पक्राउ गरेर छानबिन गर्नुहुन्छ कि तैँ चुप मै चुप गर्नुहुन्छ ?
२. पासपोर्ट दुरुपयोग फौजदारी अभियोग हो कि होइन ?
३. फौजदारी अभियोगमा अनुसन्धान अघि बढाउन उजुरी चाहिँदैन भन्ने थाहा छ ?
४. त्यसो भए उजुरी लुकाउन र दर्ता नगर्न यत्रो मेहनत किन ?
५. सामान्य नागरिकले यति कानून उल्लंघन गरेको भए आज हिरासतमा हुन्थ्यो कि बालुवाटार र बालकोट ?

यी तमाम प्रश्नले प्रहरीलाई घेरेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले पनि यी प्रश्नको जवाफ दिनुपर्छ, अन्यथा नेपालमा पद र शक्तिमा हुने र नहुनेका लागि फरक कानून छ भन्ने हिम्मत गर्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *