राजनीति

नेपाली राजनीतिमा भारतको यस्तो चेलखेल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ २० गते २१:०१
नेपाली राजनीतिमा भारतको यस्तो चेलखेल (भिडियो रिपोर्टसहित)

२० माघ २०७९ काठमाडौं । भूराजनीतिको प्रभावमा परेको नेपाली राजनीतिमा भारतले ‘कम ब्याक’को प्रयास गरेको छ । अहिले अमेरिका र चिनियाँ चासो ह्वात्तै बढ्दा भारत पर्ख र हेरको नीतिमा उभिएको छ ।

कहिले राजनीतिक तह त कहिले रअलाई सक्रिय पार्ने भारत पछिल्लो समय साउथ ब्लकबाटै कम ब्याक हुने प्रयासमा छ । हालै नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवको मधेस भ्रमण र त्यहाँ मधेस केन्द्रित दलका नेतासँगको संवादले भारत नेपाली राजनीतिमा प्रवेश गर्ने चाहनामा रहेको पुष्टि हुन्छ ।

प्रचण्ड नेतृत्वको सरकार गठनका लागि एमाले र माओवादी केन्द्र मिलेर बनेको गठबन्धनमा असन्तुष्ट भनिएको भारत अहिलेको सत्ता समीकरणमा देखिएको खटपटलाई उपयोग गर्न चाहन्छ । वर्तमान सत्ता गठबन्धनमा रहेका जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको असन्तुष्टि ‘क्यास’ गर्न भारतले आफ्नो सक्रियता बढाएको अनुमान गरिएको छ ।

तेस्रो राष्ट्रपतिका लागि मुख्य सत्ता घटकहरु एमाले र माओवादी केन्द्रबीचको शंकालाई बढाएर कांग्रेससहितको गठबन्धन बनाउनुपर्ने लबिङमा भारत लागि परेको जानकार बताउँछन् । त्यसैका लागि मधेस केन्द्रित दलहरुलाई उपयोग गर्ने नीति भारतको देखिन्छ । गत माघ १५ गते जनकपुर पुगेका नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव त्यहाँ मधेस केन्द्रित दलका नेताहरुसँगको भेटघाटमै व्यस्त हुनुहुन्छ । कालिगण्डकीको शिला अयोध्याय लानेक्रममा जनकपुरमा भएको कार्यक्रममा सहभागी हुन श्रीवास्तव त्यहाँ पुग्नुभएको थियो ।

त्यसक्रममा उहाँले जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी, जनतमत पार्टीका नेता मात्र होइन, प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरुसँग पनि भेटवार्ता गर्नुभयो । श्रीवास्तव बसेको सीताशरण होटलमै नेपाली नेतादेखि मुख्यमन्त्री, मन्त्रीसम्म भेट्न पुगेका थिए । श्रीवास्तवले प्रदेश प्रमुख हरिशंकर मिश्रसँग भलाकुसारी गर्नुभयो ।

हुनत यो भेटलाई वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले समसामयीक राजनीतिक अवस्था र मधेस प्रदेशको विकासमा केन्द्रित भएको दाबी गरेको छ । त्यसपछि श्रीवास्तव बसेकै होटलमा मुख्यमन्त्री सरोजकुमार यादव र मन्त्रीहरुले भेटवार्ता गरे । मुख्यमन्त्री यादव जनता समाजवादी पार्टीका मधेस प्रदेश संसदीय दलको नेता पनि हुनुहुन्छ ।

यी बाहेक सरकारमै रहेको जनमत पार्टीका संसदीय दलका नेता महेसप्रसाद यादवसँग पनि राजनीतिक वार्ता गर्नुभयो । जसपा र जनमत पार्टी वर्तमान सत्ता गठबन्धनसँग असन्तुष्ट छ । यी बाहेक सत्ता बाहिर रहेको लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग श्रीवास्तवले अलगै भेटवार्ता गर्नुभयो । लोसपा कांग्रेस नेतृत्वको गठबन्धन बनाउन पुस १० गतेअघि नै सक्रिय बनेको थियो । यो भेटवार्ताले दुई सन्देश दिएको छ ।

पहिलो
नेपालको राजनीतिमा अaमेरिका र चीनको बढ्दो ‘माइक्रो म्यानेजमेन्ट’मा भारतले स्पेस खोजेको छ । त्यसका लागि वर्तमान गठबन्धन तोड्ने र आफू अनुकुलको गठबन्धन बनाउने । दुई कम्युनिष्ट पार्टीको गठबन्धनलाई चीनको नजिक मानेको भारतले आफू अनुकुलको नयाँ गठबन्धन वा यही गठबन्धनमा मधेस केन्द्रित दललाई उपयोग गरेर प्रभाव कायम गर्ने उद्देश्य मानिएको छ ।

दोस्रो
नेपाली राजनीतिमा भारतलाई कमजोर नआंकन ठूला राजनीतिक दलहरुलाई सन्देश दिन खोजेको पनि लुकेको छैन । अर्कोतर्फ मधेस केन्द्रित दललाई एक ठाउँमा ल्याउन वा कार्यगत एकता गराउन अझ पनि भारत सक्षम भएको सन्देश दिन खोजिएको छ ।

यी भेटवार्ताले भारत काठमाडौं भन्दा जनकपुरलाई पुनः उपयोग गरेर आफूलाई नेपालको राजनीतिमा प्रभावशाली रहेको बताउँन चाहन्छ । २०७२ सालमा संविधान जारी भएपछि भारतले काठमाडौं आफू अनुकुल हुन नखोजेपछि मधेस केन्द्रित दललाई उपयोग गर्दै नाकाबन्दी लगाएको थियो । अब नाकाबन्दी नै नगर्ने तर, सत्ता समीकरणमा सबै मेधस केन्द्रित एक ठाउमा उभिदा काठमाडौं आफ्नो प्रभावमा पार्न सकिने भारतीय चाहना हुनसक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्