Main News

भ्रष्टाचार अवधारण सूचकांकमा नेपाल : आंकडामा केही सुधार मात्रै (भिडियो रिपोर्टसहित)

२०७९ माघ १८ गते २१:१४
भ्रष्टाचार अवधारण सूचकांकमा नेपाल : आंकडामा केही सुधार मात्रै (भिडियो रिपोर्टसहित)

१८ माघ २०७९ काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारण सूचकांकमा नेपाल १८० देशमध्ये ११०औं स्थानमा पर्‍यो।

यसपटकको सूचीले समग्र भ्रष्टाचारको भयावहमा झिनो सुधार भएको त देखाएको छ । तर, ट्रान्सपरेन्सीको प्रतिवेदनले सरकार, न्यायालय, सांसद र सुरक्षा निकायले निजी स्वार्थका लागि पदको दुरुपयोग गर्नेक्रम भने झनै बढेको औंल्याएको हो। यसले आंकडामा केही सुधार भएपनि भ्रष्टाचारमा निर्णायक तहका अधिकारीको व्यवहार भने उदार रहेको प्रष्ट पार्छ।

ट्रान्सपरेन्सी इन्टरनेशनले प्रत्येक वर्ष सार्वजनिक गर्ने प्रतिवेदनअनुसार पछिल्लो एक दशकमा नेपाल दोस्रोपटक ११०औं स्थानमा झरेको हो। दस वर्षअघि अर्थात् सन् २०१२ मा २७ अंकसहित १३९औं स्थानमा रहेको नेपाल यसबीचमा सन् २०१९ को सूचीमा ३४ अंकसहित ११३औं स्थानमा परेको थियो।

त्यसबेला प्राप्तांक अहिलेको समान भएपनि सूचीक्रम भने तीन स्थान माथि थियो। यो सूचीले भ्रष्टाचार नियन्त्रणको समग्र अवस्थामा नेपालले सुधार गरेको देखाउँछ तरु अहँ, देखाउँदैन। किनकि, समग्रतामा सुधार गरेर होइन, अघिल्ला स्थानमा रहेका देशले समान अंकका साथ एउटै स्थान ओगट्दा मात्रै नेपाल सूचीमा केही झरेको हो।

विश्व बैंक, वल्र्ड इकोनोमी फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउण्डेसन र वल्र्ड जस्टिस प्रोजेक्टले फरक–फरक क्षेत्रमा गर्ने अध्ययनका आधारमा ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रष्टाचार अवधारणा सूचकांक निर्धारण गर्छ। वर्ल्ड इकोनोमी फोरमको सूचकांकमा भने नेपालले सुधार गरेको छ।

सन् २०२१ मा ३४ अंक पाएको नेपालले सन् २०२२ मा ३८ ल्याएको छ। कोरोना महाममारीका कारण सन् २०२२ मा आयात–निर्यात प्रभावित भएकाले सकारात्मक अकं आएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको ठहर छ। विश्व बैंक, ग्लोबल इनसाइट र बर्टेल्सम्यान फाउण्डेसनले गरेको सर्वेक्षणमा भने नेपालले सन् २०२१ को जति नै ३४ अंक पाएको छ।

यस्तै, सरकार, न्यायालय, संसद र सुरक्षा अधिकारीले गर्ने पदको दुरुपयोगबारे अध्ययन गर्ने वल्र्ड जस्टिस प्रोजेक्टको सर्वेक्षणमा पनि नेपाल खस्किएको छ। यो सर्वेक्षणअनुसार नेपालले सन् २०२१ मा ३० अंक पाएको थियो। अहिले ३२ पुगेको छ।

ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार भ्रष्टाचार अवधारण सूचकांकमा ५० भन्दा कम अंक पाउनु भनेको भ्रष्टाचार व्याप्त हुने देशमा गनिनु हो। यसपटक नेपालले दशककै सुधार गरेपनि प्राप्तांक विश्वको कूल औषत ४३ भन्दा १० ले कम हो।

यो वर्ष भएका दुईवटा निर्वाचनमा दलहरुले गरेको अपारदर्शी खर्चको असर सन् २०२३ को प्रतिवेदनमा देखिने ट्रान्सपरेन्सी इन्टरनेशनलको अनुमान छ। यो भनेको, सन् २०२३ को अध्ययनमा नेपालको प्राप्तांक घट्छ र सूचीको क्रमसंख्या बढ्छ भन्ने हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *