Main News

विमान एक हजार फिटको उचाइमा आइसकेपछि धावनमार्ग परिवर्तन गर्न नपाउने

हिमालय टिभी
२०७९ माघ १८ गते १५:०४
विमान एक हजार फिटको उचाइमा आइसकेपछि धावनमार्ग परिवर्तन गर्न नपाउने

१८ माघ २०७९ काठमाडौं । भिज्युअल फ्लाइट रुल भीएफआर अनुसार अवतरण गर्ने जहाजले जमिनबाट एक हजार फिटको उचाइमा आइसकेपछि अब निर्धारित धावनमार्ग परिवर्तन गर्न नपाउने भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उड्ने सबै वायुयानका लागि यस्तो नियम ल्याएको छ । प्राधिकरणका अनुसार यो नियम छोटो धावनमार्ग भएका पहाड र हिमालका विमानस्थलमा ५ सय फिट तोकिएको छ ।

माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाजले सुरुमा धावनमार्गको एक छेउ ‘थ्रीजीरो’ बाट अवतरणका लागि अनुमति पाएको थियो । तर, पाइलटले जहाजलाई मोडेर अर्को छेउ ‘वानटु’बाट जहाज अवतरण गराउने निर्णय लिएका थिए ।

जहाज जमिनको धेरै तल आइसकेको अवस्थामा लिइएको यो अस्वभाविक फन्कोलाई नै विज्ञहरुले दुर्घटनाको कारण भन्ने गरेका छन् । यसबारे सरकारले गठन गरेको छानविन आयोगले भने अनुसन्धान गरिरहेको छ ।

इन्स्ट्रुमेन्ट फ्लाइट रुल आईएफआर जडित जहाज भने कुन अवस्थामा कति उचाइ कायम गर्ने भन्ने सम्बन्धमा प्रोफाइल कायम गरी अवतरण हुने गर्छ ।

प्राधिकरणले आईएफआर प्रणाली जडान भएका विमानस्थलमा भीएफआर अनुसार जहाज उडाउन रोक लगाएको छ । यो नियम साना जहाजहरु ट्वीनअटर, एलईटी–४१०, डोर्नियर लगायतमा भने अनिवार्य गरिएको छैन ।

यस्तै प्राधिकरणले कुनै एक गन्तव्यबाट जहाज उडाएर गएको पाइलट र कोपाइलटको जोडी बीचमा परिवर्तन गर्न सकिने नियम पनि परिवर्तन गरेको छ ।

यस्तै प्राधिकरणले दुर्गम भेगका विमानस्थलमा उडान गर्ने पाइलटको दैनिक ड्युटी आवर समेत घटाएको छ । अब यी विमानस्थलमा एक जना पाइलटले दैनिक ८ घण्टा वा ८ उडान र अवतरण मात्र गर्न सक्ने छन् । यसअघि १० घण्टा वा १० उडान अवतरण रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *