Main News

राष्ट्रपति र गृहमन्त्रीको विषयलाई लिएर सत्तागठबन्धन फुटको नजिक (भिडियो रिपोर्टसहित)

२०७९ माघ १७ गते २१:२९
राष्ट्रपति र गृहमन्त्रीको विषयलाई लिएर सत्तागठबन्धन फुटको नजिक (भिडियो रिपोर्टसहित)

१७ माघ २०७९ काठमाडौं । सरकार गठन भएको डेढ महिनामै सत्तागठबन्धन फुटको नजिक पुगेको छ । राष्ट्रपति र गृहमन्त्रीको विषयलाई लिएर सत्तागठबन्धनभित्र देखिएको मतभेदले गठबन्धन कायम रहनेमा आशंका गर्न थालिएको छ ।

कांग्रेससँगको गठबन्धन छाडेर एमाले नजिक पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ७ दलको बलियो समर्थनमा पुस १० गते प्रधानमन्त्री बने । तर, डेढ महिना हुन नपाउँदै सत्ता गठबन्धन धर्मराएको छ । राष्ट्रपति कुन दलको भागमा पर्नेदेखि हालै रिक्त गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दिने कि नदिनेबारे गठबन्धनमा मतभेद सुरु भएको छ ।

संघ र प्रदेशको सरकारमा मिलेर भागवण्डा गरेका यी दलमा अहिले भने राष्ट्रपति र गृहमन्त्रीको विषयले उल्झन ल्याएको छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रपति एमालेले लिने सहमति भएकाले त्यसको कार्यान्वयन हुनुपर्ने एमालेको अडानछ । तर, सरकारको नेतृत्व गरेको माओवादी केन्द्रको बोली अहिले फेरिएको छ । प्रधानमन्त्रीमा कांग्रेसको समेत विश्वासको मत पाएपछि बलियो बनेको माओवादी राष्ट्रपतिमा एमालेको विकल्पको खोजीमा छ ।

राष्ट्रपतिको विषयले अहिले एमाले र माओवादीबीच चिसो शुरु भएको छ । तर, सतहमा उनीहरु यो विषयले गठबन्धनमा समस्या नपर्ने बताइरहेकै छन् । सत्तागठबन्धनकै अर्को घटक राष्ट्रिय स्वतन्त्र पार्टीले त गृहमन्त्री आफ्नो पार्टीले नपाए गठबन्धन छाड्ने चेतावनी दिइसकेको छ ।

नेपालको वैध नागरिकता नभएपछि सर्वोच्च अदालतको फैसलाबाट पदच्यूूत भएका सो पार्टीका सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भेटेरै गृहमन्त्री आफ्नो पार्टीले नछाड्ने र छाड्नुपरे सत्तागठबन्धन छाड्ने जानकारी गराइसकेका छन् । तर, प्रधानमन्त्री प्रचण्ड नागरिकता दुरुपयोग र दोहोरो राहदानीको विवादमा तानिएका गैरसांसद लामिछानेलाई गृहमन्त्री बनाउन तयार देखिएका छैनन् । तर, लामिछाने जसरी पनि पुरानो जिम्मेवारीमा फर्कन हतारिएका छन् ।

माओवादीभित्र स्वार्थ बझान हुने मन्त्रालय दिन नहुने मत बलियो देखिँदा स्वतन्त्र पार्टीले गृहमन्त्रालय पाउने सम्भावना क्षिण देखिएको छ । सत्तागठबन्धन आफैभित्रको विवादले फुटको डिलमा पुगिसकेको विश्लेषकहरुको टिप्पणी छ ।

एजेण्डा नमिले पनि सरकारमा एक ठाउँमा आएका दलहरुबीच एकअर्काप्रति चरम अविश्वास सतहमा आएको छ । प्रधानमन्त्री भएपनि गृह, अर्थ, परराष्ट्र, रक्षा मन्त्रालय आफुसँग नहुँदा कमजोर देखिएका प्रचण्डले अहिले रिक्त रहेको गृहमन्त्री आफैसँग राख्न चाहेका छन् ।

उता, सभामुखसहित महत्वपूर्ण मन्त्रालय एमालेको भागमा परेकाले अब राष्ट्रपति पनि एमालेलाई दिँदा भविष्यमा आफू कमजोर हुने त्रासमा प्रचण्ड देखिन्छन् । नागरिकता र राहदानी छानविन भइरहेका लामिछानेको गृहमै पुग्ने चाहना, राष्ट्रपति नछाड्ने एमाले अडान र ती दुवै दलको चाहना सम्बोधन नगर्ने प्रचण्ड ‘मूभ’का कारण अहिले सत्तागठबन्धनमा सकस छ । प्रचण्डको मूभ स्वीकारेर एमाले र स्वतन्त्र पार्टी बस्छन् वा आफ्नो अडानअनुसार नभए गठबन्धनबाट बाहिरिएलान् रु गठबन्धनको भविष्य उनीहरुकै निर्णयमा निर्भर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *