सन्दीप लामिछानेलाई थुनामा राखेर कारबाही गर्न माग गर्दै सर्वोच्चमा निवेदन
१७ माघ २०७९ काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको छ ।
नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले निवेदन दिएको हो ।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीले लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश कानुनी व्यवस्था र सर्वोच्चले यस्तै प्रकृतिका मुद्दामा थुनछेकबारे गरेको व्याख्याको प्रतिकुल भएको भन्दै निवेदन दिएको जानकारी दिनुभयो ।
पुस २८ गते उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटी लिएर शर्तसहित छाड्न आदेश दिएको थियो । लामिछानेले जबरजस्ती करणी गरेको भन्दै भदौ २१ मा प्रहरी वृत्त, गौशालामा किटानी जाहेरी परेको थियो ।
प्रतिक्रिया