राजनीति

कर्णाली प्रदेशमा सभामुख र उपसभामुख दुवै महिला (भिडियो रिपोर्टसहित)

२०७९ माघ १६ गते १६:०३
कर्णाली प्रदेशमा सभामुख र उपसभामुख दुवै महिला (भिडियो रिपोर्टसहित)

१६ माघ २०७९ सुर्खेत । अघिल्लो सरकारमा महिला सहभागिता नहुँदा निकै आलोचना खेपेको कर्णाली प्रदेशमा यसपटकको प्रदेश संसदको नेतृत्व महिला सांसदको हातमा पुगेको छ ।

घरधन्धामा सीतिम हुनुपर्ने मान्यतालाई तोड्दै जनप्रतिनिधिमा निर्वाचित हुँदै संसदको नेतृत्व महिलाले गर्दा महिला अधिकारकर्मीहरु भने निकै खुसी भएका छन् ।

मुलुक प्रादेशिक संरचनामा गएपछि पहिलो पटक कर्णालीमा प्रदेशसभाको नेतृत्व महिलाको काँधमा पुगेको छ । ४० सांसद रहेको प्रदेशसभामा १५ महिला प्रतिनिधि छन् ।

प्रदेशसभाले गत माघ १ गते सभामुखमा एमालेकी नन्दा गुरुङ र माघ ४ गते उपसभामुखमा माओवादीकी यशोदा न्यौपानेलाई निर्वाचित गर्यो । कानून बनाउने र सरकारलाई जवाफदेही गराउने काममा महत्वपूर्ण भूमिका खेल्ने संसद्लाई चलायमान बनाउने जिम्मेवारी महिलाले पाएका छन् ।

आर्थिक र सामाजिक हिसाबले निकै पछाडि पारिएको कर्णाली प्रदेशमा घरेलु हिंसा, बालविवाह, जबरजस्ती करणी जस्ता घटना बारम्बार हुँदै आएका छन् ।

आर्थिक वर्ष २०७८–७९ मा कर्णालीमा जवरजस्ती करणीमा एक सय ५७, बहुविवाहमा ८१, बालविवाह १०, घरेलु हिंसामा नौ सय ८३ उजुरी नेपाल प्रहरीमा दर्ता भएका छन् । दर्ता नभएका घटनासंख्या अझ ठूलो भएको अधिकारकर्मीको भनाइ छ ।

सचेतनाको कमी र महिला सशक्तिकरणका कानून बलियो नभएका कारण यस्ता हिंसा बढिरहेको छ । यो अवस्था न्युनिकरणका लागि महिला नेतृत्वले ध्यान पुर्याउने अधिकारकर्मीहरुले आशा गरेका छन् ।

महिलालाई सभामुख र उपसभामुख जस्तो महत्वपूर्ण स्थान दिएको कर्णाली प्रदेशले मन्त्रिपरिषद्‌मा भने मात्र एक जना महिलालाई समावेश गरिएको छ, त्यो पनि राज्यमन्त्रीका रुपमा । समावेशीताको सिद्धान्तलाई लत्याएर गठन गरिएको मन्त्रिपरिषद्‌का बारेमा भने आलोचना भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्