Main News

अयोध्या पठाइएको कालीगण्डकीको शिलाको कथा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ १५ गते २०:२३
अयोध्या पठाइएको कालीगण्डकीको शिलाको कथा (भिडियो रिपोर्टसहित)

१५ माघ २०७९ काठमाडौं । तीन दशक लामो विवादको अन्त्य गर्दै सन् २०१९ मा भारतको अयोध्यामा राम मन्दिर बनाउने निर्णय भयो । निर्णय लगत्तै अयोध्यामा बनाइने रामको मूर्तिका लागि भगवान विष्णुको अवतार मानिने शालिग्रामको ढुंगा प्रयोग गर्ने निधो गरियो ।

सोही अनुसार नेपाल सरकारले कालीगण्डकी नदीबाट शिला निकालेर मूर्ति बनाउन भारतलाई हस्तान्तरण गरेको छ । गण्डकी प्रदेशको झण्डै १० लाख आर्थिक सहयोगमा कालीगण्डकीको देवशिला अहिले जानकी मन्दिर पुगेको छ भने सबै व्यवस्थापन नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले गरिरहनु भएको छ ।

पुस ३ गतेको मन्त्रिपरिषद् बैठकले भारतको अयोध्यामा निर्माण हुने राम मन्दिरमा रामको बालरुपी मुख्य मूर्ति बनाउन कालीगण्डकी नदीका शिला पठाउने निर्णय गर्‍यो ।

त्यसलगत्तै पुस ९ गते बसेको गण्डकी प्रदेश सरकारको बैठकले कालीगण्डकी नदीबाट शिला निकाल्नेदेखि धनुषा पुर्‍याउँदासम्मको सम्पूर्ण खर्च बेहोर्ने निर्णय गर्‍यो । सोही अनुसार प्रदेश सरकारले शिला खोज्न, उत्खनन गर्न र ढुवानीका लागि भन्दै ९ लाख ९५ हजार रुपैयाँ खर्च गरेको छ ।

म्याग्दीको बेनीस्थित कालीगण्डकी नदीबाट १६ र १८ मेट्रिकटन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाई र तीन दशमलव पाँच फिट मोटाइका दुईवटा शिला पहिचान गरियो। तीन वटा ढुंगाको उमेर एक हजार वर्ष भन्दा पुरानो भएको अध्ययन गर्न इन्जिनियरिङ अध्यन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराका भूगर्भविद नवराज न्यौपानेलाई जिम्मेवारी दिइयो ।

अध्ययन गर्दा एक हजार वर्ष भन्दा पुरानो भएको पाइएपछि सोही ढुंगाको क्षमापूजा सम्पन्न गरेर मुख्यमन्त्री खगराज अधिकारीले जानकी मन्दिरका पिठाधीसलाई हस्तान्तरण गर्नुभयो। त्यसपछि रुद्राभिशेकसहित विशेष पूजा गरिएको देवशिला अहिले जनकपुरधामस्थित जानकी मन्दिर पुगेको छ ।

म्याग्दीदेखि अयोध्यासम्म शिला पठाउन सबैभन्दा अग्रसर भएर नेपाली कांग्रेस नेता विमलेन्द्र निधि लाग्नुभएको छ । त्यसले पनि यसको राजनीतिक दृष्टिकोणबाट चर्चा भइरहेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा अयोध्या नभई नेपालकै चितवनको ठोरीमा रामको जन्म भएको तर्क प्रस्तुत गर्नुभएको थियो । भारतको अयोध्यामा तीन दशकको विवाद अन्त्य भएर राम मन्दिर बन्दै गर्दा एमाले अध्यक्ष ओलीले रामको जन्म नेपालमै भएको भनेर गरेको दाबीले दुईदेशको सम्बन्धमा समस्या देखिएकाले पनि त्यसलाई समाधान गर्न आफूले अग्रसरता लिएको निधिको तर्क छ ।

अब शिलालाई धनुषाबाट अयोध्या पुर्‍याउन लाग्ने खर्च र व्यवस्थापनको जिम्मा नेता निधि र जानकी मन्दिरका महन्त रामतपेश्वर दासले गर्नेछन् । देवशिला भोलि भारतको उत्तरप्रदेशस्थित गोरखपुरको प्रसिद्व श्री गोरखनाथ मन्दिर पुग्नेछ । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शिलाको विशेष पूजा गर्दै औपचारिक रुपमा ग्रहण गर्ने र राम मन्दिर ट्रष्टको जिम्मा लगाउने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *