राजनीति

राष्ट्रपति निर्वाचनबारे माओवादीसँग एमाले सशंकित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ १३ गते २१:३५
राष्ट्रपति निर्वाचनबारे माओवादीसँग एमाले सशंकित (भिडियो रिपोर्टसहित)

१३ माघ २०७९ काठमाडौं । राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्नुपर्ने प्रधानमन्त्री प्रचण्डको प्रस्तावलाई माओवादी केन्द्रले संस्थागत गरेको छ। प्रचण्डको प्रस्तावमा कांग्रेस उत्साहित र एमाले सशंकित हुँदा माओवादी केन्द्रले नयाँ राष्ट्रपति चयनमा राष्ट्रिय सहमतिको प्रयास गर्ने निर्णय नै गरेको हो ।

नेपाली कांग्रेसको समेत विश्वासको मत पाएका प्रधानमन्त्रीको सहमति खोज्ने प्रस्तावलाई सकारात्मक मान्नुपर्ने माओवादी केन्द्रको भनाइ छ। शंकाको सुविधा पाएको एमालेले पनि प्रचण्डबाट धोकाको कल्पना गरिसकेको छैन।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हिजो (बिहीबार) स्थायी कमिटी बैठकमा समसामयिक राजनीतिक परिस्थितिको ब्रिफिङ गर्दै राष्ट्रपति चयनमा राष्ट्रिय सहमति होस् भन्ने आफ्नो चाहना रहेको भन्दै त्यसबारे नेताहरुको पनि धारणा मागे। राष्ट्रपति चयनबारे दाहालका मुख्य ३ धारणा छन्।

पहिलोः कांग्रेसले विश्वासको मत दिएपछि आफू नेतृत्वको सरकार राष्ट्रिय सहमतिको भएको र राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति गर्न सके राजनीतिक स्थिरता कायम हुने।

दोस्रोः राष्ट्रपतिमा सहमति गरौं भन्ने प्रस्तावमा सत्ता गठबन्धनलाई तलमाथि गर्ने उद्देश्य नरहेको र गठबन्धनलाई अर्को चुनावसम्म लैजान प्रयत्न गर्ने।

तेस्रोः कांग्रेस वा एमालेमध्ये एकलाई अलग गरेर राष्ट्रिय सहमति नहुने। एमालेको उम्मेदवारमा पनि राष्ट्रिय सहमति हुन सक्छ भन्ने कोणबाट पनि बुझ्नुपर्ने।

निर्वाचनको मिति तय भइनसकेकाले राष्ट्रपति चयनबारे एकल, दुईपक्षीय वा बहुपक्षीय छलफलका लागि दलहरुसँग समय छ। र, माओवादी केन्द्रले पनि पर्याप्त आन्तरिक र बाह्य छलफलपछि मात्रै सत्ता गठबन्धनमा असर नपर्ने गरी निश्कर्षमा पुग्ने बताएको छ।

पुस १० गते सरकार गठनको दाबी पेश गर्न शीतल निवास जानुअघि एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच राष्ट्रपति एमालेले लिने र प्रधानमन्त्री तथा सभामुखमा आलोपालो गर्ने सहमति भएको थियो।

सत्ता साझेदार सात दलले सहमतिमै प्रधानमन्त्री, संघीय संसदको सभामुख र उपसभामुख तथा प्रदेशसका मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्री भागबण्डा गरिसकेका छन्। अब राष्ट्रपति र उपराष्ट्रपति मात्रै चुन्न बाँकी हुँदा माओवादी केन्द्रले राष्ट्रिय सहमतिको चर्चालाई संस्थागत बनाएपछि एमाले बृत्तमा खैलाबैला बढेको छ।

सत्ता गठबन्धनभित्र संशय पैदा हुने अभिव्यक्ति दिएका प्रचण्डले सोहीअनुसारका गतिविधि पनि गर्न थालेका हुन् कि भन्ने भित्री आशंका गरिरहेको एमाले बाहिर भने पूर्वसहमतिअनुसार नै दाहाल एमालेकै उम्मेदवारलाई सर्वसम्मत बनाउने प्रयासमा लागेको बताउँछ।

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति र पहलकदमीमा कांग्रेस नेतृत्व, विश्वासको मतको बदला राष्ट्रपतिको चुनावमा सहयोग पाउने आशामा छ। कांग्रेस सकेसम्म एमालेसमेतको सत्ता गठबन्धन भत्काउन र नसके एमालेले राष्ट्रपति नपाउने परिस्थिति बनाउन चाहान्छ। कांग्रेसको योजनामा वाह्य भरथेग रहेको ठानिएकाले कतै दाहाल पाँचै वर्ष सत्ता सुरक्षित गरेर राष्ट्रपति चयनमा कांग्रेसपट्टी लहसिन्छन् कि भन्ने आशंकामा छ एमाले। तर, माओवादी नेताहरु आशंका गर्न पाए पनि त्यो हदको अविश्वास नगर्न एमालेलाई सुझाव दिन्छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्