राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय
१३ माघ २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो र आज गरी दुई दिन बसेको स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश नेताहरुले राष्ट्रपति निर्वाचन सहमतिको आधारमा गर्ने सुझाव दिएपछि बैठकले राष्ट्रिय सहमति खोज्ने निश्कर्ष निकालेको हो ।
बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेससमेत सहभागी भएको भन्दै राष्ट्रपति चुनावमा कांग्रेसको समेत विश्वास लिएर कसरी अघि बढ्न सकिन्छ भनी प्रश्न सोध्नु भएको थियो ।
धेरैजसो सहभागीले कांग्रेसलाई समेत विश्वासमा लिएर सहमति जुटाउने जिम्मा माओवादी केन्द्रको काँधमा आइपुगेको भन्दै त्यसैका लागि अघि बढ्न प्रचण्डलाई सुझाव दिएका थिए ।
यस्तै बैठकमा तीनवटा प्रतिवेदन पेस भएका छन् । उपाध्यक्ष कृष्णबहादुर महराको पार्टी एकतासम्बन्धी प्रतिवेदन, नेता जनादर्न शर्माको संगठनसम्बन्धी र गिरीराजमणि पोखरेलले स्कुलिङसम्बन्धी प्रतिवेदन पेश भएका हुन् ।
अर्को बैठक माघ १६ गते बस्ने गरी स्थायी कमिटी बैठक सम्पन्न भएको छ ।
प्रतिक्रिया