Main News

टरिगाउँमा आजदेखि निजी क्षेत्रको विमानले उडान भर्ने

२०७९ माघ १३ गते ८:४५
टरिगाउँमा आजदेखि निजी क्षेत्रको विमानले उडान भर्ने

१३ माघ २०७९ तुलसीपुर । दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा निजी विमानले पनि सेवा दिने भएका छन् ।

त्यसका लागि निजी विमान कम्पनी सेवा सीता एयरले आज (शुक्रबार) परीक्षण उडान गर्ने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार दिउँसो १ बजे सीता एयरको १९ सिटे विमानले परीक्षण उडान भर्ने भएको हो । “शुक्रबारदेखि निजी विमान पनि बस्ने भएको छ, सीता एयरले उडान भर्दैछ”, उहाँले भन्नुभयो, “निजी विमान उडान सुरु भएपछि भाडा पनि सस्तो हुने हाम्रो अपेक्षा छ ।”

ठूलो सङ्घर्षपछि तुलसीपुरमा निजी विमानले सेवा दिन थालेको हो । उपप्रमुख चौधरीले अहिले धावनमार्गको डिपिआरको काम भइरहेको भन्दै त्यो सकेपछि तत्काल हालको धावनमार्गलाई विस्तार गरेर निजी कम्पनीका ठूला जहाज बसाल्ने योजना रहेको बताउनुभयो । उहाँले जसरी पनि ७२ सिटे जहाज बसाल्ने गरी आफूले तयारी गरेको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाले उपप्रमुख स्यानी चौधरीको नेतृत्वमा समिति नै बनाएर विमानस्थल विस्तारका लागि पहलकदमी अगाडि बढाएको छ । सोहीअनुसार निजी विमान तुलसीपुरमा आउन लागेको हो ।

हाल नेपाल वायु सेवा निगमको १९ सिटे ट्वीनअटर हप्तामा चार दिन तुलसीपुरमा उडान भर्ने गरेको छ । आइबार, मङ्गलबार, बिहीबार र शनिबार उडान हुने गरेको हो । हाल टरिगाउँबाटै इन्धन डिपो स्थापना भई सञ्चालनमा पनि आइसकेको छ । तर भाडा भने घट्न सकेको छैन । हाल दाङबाट काठमाडौँको न्यूनतम रु आठ हजार आठ सय १० र काठमाडौँबाट दाङको भाडा न्यूनतम रु नौ हजार बढीदेखि अधिकतम १२ हजारभन्दा बढी रहेको छ ।

निजी विमान सञ्चालन भएसँगै भाडा घट्ने अपेक्षा गरिएको छ । साथै हाल रहेको सात सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग पनि विस्तार गर्न सकेमा ठूला जहाज बस्ने र भाडा पनि सस्तो हुने उपप्रमुख चौधरीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *