Main News

गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ ११ गते १७:१३
गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा (भिडियो रिपोर्टसहित)

११ माघ २०७९ काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस नसकिएपछि शुक्रबारका लागि अर्को पेशी तोकिएको छ ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा‍‍‍।आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेको संवैधानिक इजलासमा आज रिट निवेदकका तर्फबाट कानुन व्यवसायीले बहस गरेका थिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतको तर्फबाट बहस नोट पेश गर्दै सहन्यायाधिवक्ता संजीवराज रेग्मीले लामिछानेविरुद्ध क्षेत्राधिकार नभएको व्यक्तिले रिट दायर गरेकाले रिट नै खारेज हुनुपर्ने जिकिर गर्नुभयो ।

वरिष्ठ अधिवक्ता सुशील पन्त र सुनिल पोख्रेलले लामिछानेले अमेरिकाको नागरिकता लिँदा नेपालको नत्यागेकाले अमेरिकाको त्यागेपछि नेपालको नागरिकता स्वतः कायम भएको ठहर्ने जिकिर गर्नुभयो । आज बहस नसकिएपछि शुक्रबारका लागि अर्को सुनुवाइ तोकिएको लामिछानेका कानुन व्यवसायी पोख्रेलले जानकारी दिनुभयो ।

रिट निवेदककातर्फबाट वरिष्ठ अधिवक्ताद्वय रमन कर्ण, सुरेन्द्र भण्डारी र अधिवक्ताहरू अमृत खरेल, निकिता ढुंगानाले बहस गर्नुभएको थियो ।

लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेकाले सांसद र मन्त्री पदमा गैरनेपाली रहन नसक्ने भएकाले पदमुक्त हुनुपर्ने मागसहित परेको रिटमा विपक्षी लामिछानेको पक्षलाई बहसका लागि अब १५ मिनेटमात्र बाँकी छ ।

शुक्रबार १५ मिनेट लामिछानेका पक्षले बहस गरेपछि दुवै पक्षको बहस सकिने छ । शुक्रबारनै फैसला हुने सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *