Main News

काठमाडौं महानगरको पूर्वाधार एम्बुलेन्स चल्दैछ कि थन्कियो ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ १० गते २१:२०
काठमाडौं महानगरको पूर्वाधार एम्बुलेन्स चल्दैछ कि थन्कियो ? (भिडियो रिपोर्टसहित)

१० माघ २०७९ काठमाडौं । गत जेठ ३० गते काठमाडौं महानगरपालिकाले पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्यायो ।

महानगर क्षेत्रभित्र रहेका सडकको खाल्डाखुल्डी पुर्न आएको गुनासोको तत्काल सम्बोधन गर्न पूर्वाधार एम्बुलेन्स प्रयोगमा ल्याइएको थियो । तर १० करोड रुपैंया बजेट छुट्याइएको पूर्वाधार एम्बुलेन्स कहाँ र के गरिरहेको छ भन्ने महानगर नै बेखबर छ ।

सडकका खाल्डाखुल्डी, ठाउँठाउँमा फुटेका ढल लगायत पूर्वाधारको आकस्मिक मर्मतसम्भार गर्न पूर्वाधार एम्बुलेन्सको सञ्चालनमा ल्यायो । कम खर्चमा सजिलै मर्मत हुन सक्ने पूर्वाधारमा ठूलो बजेट खर्च गर्न नपरोस् भन्दै महानगरपालिकाले पूर्वाधार एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको भनियो । तर योजना ल्याउने, डेमो देखाउने र बेबारिस छाड्ने प्रवृतिबाट पूर्वाधार एम्बुलेन्स पनि अछुतो रहेन ।

महानगरले ल्याएको पूर्वाधार एम्बुलेन्सले काम गरेको हुन्थ्यो भने नयाँबानेश्वर लगायत बाटाहरुमा यस्ता खाल्डाखुल्डी देखिने थिएनन् ।

यी खाल्डाखुल्टीले पूर्वाधार एम्बुलेन्स डल्लु, नयाँबानेश्वर, बुद्धनगर र बालुवाटार क्षेत्रमा प्रभावकारी भएको महानगरपालिकाको दाबीको खण्डन गरिरहेको छ । काठमाडौं महानगरपालिकाले पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याएको ८ महिना मात्रै भयो । तर वातावरण विभाग टेकुमा थन्क्याइएको एम्बुलेन्सकै उपचार गर्नु पर्ने भएको छ ।

३२ वटा वडा भएको काठमाडौंलाई २ वटा एम्बुलेन्स छन । यसै त अपर्याप्त एम्बुलेन्स त्यहाँमाथि सञ्चालनमा नआएको धेरै भइसक्यो । अहिले महानगरलाई पनि पूर्वाधार एम्बुलेन्स निष्प्रभावी भएको लागिसकेको छ ।

काठमाडौं महानगरपालिकाले ल्याएको एम्बुलेन्स त चलेनन् नै एम्बुलेन्स पनि बोलाउन सकिने गरी ल्याइएको ट्रोल फ्रि नम्बर ११८० पनि सञ्चालनमा छैन । पूर्वाधार एम्बुलेन्सका लागि १० करोड रुपैंया बजेट छुट्याएको छ । १ थान रोलर, एक थान जेसीवी र २ गाडीसहित केही प्राविधिक संयन्त्र तयार पारिएको भनिएको थियो । तर त्यो पनि अलमलमै छ ।

पूर्वधार एम्बुलेन्स केही दिन त सडकमा देखिएको थियो । महानगरकै तथ्यांक पत्याउने हो भने पूर्वाधार एम्बुलेन्सले ७ सय मिटर सडक मर्मत भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *