Main News

हरेक जात र समुदायका आ-आफ्नै नयाँ वर्ष, के छ सोनाम ल्हाेछारकाे महत्त्व ?(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ ८ गते २१:०६
हरेक जात र समुदायका आ-आफ्नै नयाँ वर्ष, के छ सोनाम ल्हाेछारकाे महत्त्व ?(भिडियो रिपोर्टसहित)

८ माघ २०७९ काठमाडौं । संस्कृतिले सम्पन्न नेपालमा जात र समुदाय विशेषले मनाउने चाडको पनि छुट्टै महत्व छ । सभ्यता र समुदायसँग जोडिएका पर्वले राष्ट्रिय एकता जगेर्ना गर्न पनि महत्वपूर्ण भूमिका खेलेका हुन्छन् ।

नयाँ वर्षका रुपमा मनाइने ल्होसार विभिन्न जातजतिले अलगअलग मितिमै मनाउने गरेका छन् । आज तामाङ समुदायले नयाँ वर्ष सोनाम ल्होसार आ–आफ्नै शैली र परम्पराअनुसार मनाएका छन् ।

नेपालमा ह्योल्मो, तामाङ, शेर्पा र गुरुङ समुदायले ल्होसार मनाउँदै आएका छन । ल्होसारको सम्बन्ध पुरानो वर्षलाई बिदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने विषयसँग गाँसिएको छ । नेपालमा हालसम्म तमु लोसार, सोनाम लोसार र ग्याल्बो लोसार गरी तीन प्रकारको लोसार मनाउने गरेको पाइन्छ । नेपालमा कुन कुन जातिले कुन महिना र कुन ल्होसार मनाउँछन् त ?

सोनाम ल्होछार
तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आइतबार विविध कार्यक्रम गरी मनाएका छन । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ। मञ्जुश्री पात्रोअनुसार आइतबारदेखि २८५९औँ वर्ष सुरु भएको छ। बाघ वर्ष पूरा गरी खरायो वर्ष प्रवेश भएको छ ।

तमू ल्होसार
गुरुङ समुदायले प्रत्येक वर्ष पौष १५ गतेलाई तमु ल्होसार पर्वका रुपमा मनाउने गर्दछन् । ‘ल्हो’ को अर्थ वर्ष र सारको अर्थ फेरिनु भएकाले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमू ल्होसार मनाउने चलन छ ।जातीय भेषभुषामा सजिएर गुम्बा, क्होइबोमा पुगी पच्हृयु, क्हेल्प्री, बोन्पोलम र लामाबाट मन्त्रोच्चारण गर्दै रुपा लगाउँने चलन छ । ल्होसारको अघिल्लो दिन मध्यरातमा पश्चिमतर्फ फर्किएर धनुषबाण हानी पुरानो वर्षको बिदाई गर्ने चलन छ ।

ग्याल्बो लोसार
हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले ग्याल्बो मनाउने गर्छन । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्बो ल्होसारलाई विभाजन गरिएको छ ।ग्याल्बो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम गरी मनाइन्छ । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्बो ल्होसार अहिले २२ जिल्लामा मनाइन्छ ।

पछिल्लो समय राजधानी लगायत देशभरका मुख्य सहरी क्षेत्रका खुला मैदानमा विविध कार्यक्रम गरी ल्होसार मनाउने चलन बढेसँगै ल्होसार पनि साझा पर्वको रुपमा विकास हुँदै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *