राजनीति

डेढ दशककाे उपलब्धी– १३ प्रधानमन्त्री, २ सय ८८ मन्त्री, १८ सयभन्दा बढी सांसद (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ ७ गते २१:१२
डेढ दशककाे उपलब्धी– १३ प्रधानमन्त्री, २ सय ८८ मन्त्री, १८ सयभन्दा बढी सांसद (भिडियो रिपोर्टसहित)

७ माघ २०७९ काठमाडौं । नेपालमा पछिल्लो डेढ दशकमा सबैभन्दा ठूलो उपलब्धी के होला ? तर्क आ–आफ्नै हुनसक्छन् । तर २०६४ को पहिलो संविधानसभा निर्वाचनपछि मात्रै १३ जना प्रधानमन्त्री बने ।

२ सय ८८ जना मन्त्री भए । संविधान सभा, प्रतिनिधिसभा र राष्ट्रिय सभामा गरी १८ सयभन्दा बढी सांसद भए। हेरौं कुन प्रधानमन्त्रीको समयमा कति मन्त्री बने ?

२०६४ यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीन(तीन पटक देशको बागडोर सम्हाल्नु भयो । शेरबहादुर देउवा दुई पटक, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, झलनाथ खनाल र सुशील कोइराला एक–एक पटक प्रधानमन्त्री बन्नुभयो । यो बीचमा सर्वोच्च अदालतका प्रधानन्यायधीश खिलराज रेग्मीको नेतृत्वमा गैरदलीय सरकार पनि बन्यो ।

२०६५ साउन ३१ गते पहिलो पटक प्रधानमन्त्री नियुक्त प्रचण्डले एक उपप्रधानसहित २३ सदस्यीय मन्त्रीपरिषद् गठन गर्नुभयो ।

प्रचण्डको राजीनामापछि २०६६ जेठ ११ मा नेकपा एमालेका तत्कालिन अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित सरकारमा २ उपप्रधानसहित २७ मन्त्री र १४ राज्यमन्त्री र २ सहायक मन्त्री बने ।
नेपालले १ वर्ष ८ महिना मुलुकको नेतृत्व गरेपछि माओवादीको समर्थनमा एमालेका झलनाथ खनाल प्रधानमन्त्री हुनुभयो । २०६७ माघ २३ मा प्रधानमन्त्री भएका खनालले ३ उपप्रधानसहित २६ मन्त्री र १० जना राज्यमन्त्री बनाउनुभयो ।

खनालपछि २०६८ भदौ ११ मा तत्कालिन एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २ उपप्रधानसहित २७ मन्त्री र २२ जना राज्यमन्त्री बनाउनुभयो ।

२०६९ फागुन ३ मा उहाँले राजीनामा दिएपछि मुलुक गैरदलीय नेतृत्वमा गयो । चैत १ मा बहालवाला प्रधानन्यायधीश खिलराज रेग्मीको नेतृत्वमा सरकार गठन भयो । यो सरकारमा ११ जना मन्त्री बने ।

२०७० मंसिर ४ मा दोस्रो संविधान सभा निर्वाचन गराएर रेग्मीले सरकारको नेतृत्व छाडेपछि २०७० माघ २७ गते तत्कालिन कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार गठन भयो । उहाँले २ उपप्रधानमन्त्रीसहित २१ मन्त्री र २ राज्यमन्त्रीसहित मन्त्रिपरिषद् गठन गनुभयो । २०७२ असोज ३ मा संविधान जारी पछि उहाँले प्रधानमन्त्रीको कुर्ची छाड्नुभयो ।

त्यसपछि माओवादी र एमाले मिलेर २०७२ असोज २४ गते एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भयो । ओलीले ६ उपप्रधानमन्त्रीसहित २४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभयो । तर पटक पटक मन्त्रीपरिषद् पुनगठन गरेर उहाँले मन्त्रीहरुको संख्या ३८ सम्म पुर्‍याउनु भयो ।

सत्ता हस्तान्तरणको भद्र सहमति कार्यान्वयन नभएपछि माओवादीले समर्थन फिर्ता लिएपछि सरकार ढल्यो र २०७३ साउन १९ मा कांग्रेसको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नुभयो। उहाँले पनि २७ मन्त्री र १४ राज्यमन्त्रीसहित ४१ सदस्यीय मन्त्रीपरिषद् गठन गनुभयो ।

कांग्रेससँगको सहमति अनुसार प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा गरेपछि २०७४ जेठ २३ मा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभयो । ३ उपप्रधानसहित ३४ मन्त्री र ३० राजयमन्त्री नियुक्त गर्नुभयो ।

देउवा नेतृत्वको सरकारले संघीय संरचना अनुसार प्रदेश र प्रतिनिधिसभा निर्वाचन गराएपछि २०७४ फागनु ३ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकारको नेतृत्व गर्नुभयो । त्यो समयमा एक उपप्रधानसहित १८ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गर्नुभयो ।

ओलीपछि २०७८ असार २९ मा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभयो । उहाँले २२ मन्त्री र ३ राज्यमन्त्री बनाउनुभयो । २०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनपछि एमालेसहित अन्य दलको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नुभएको छ ।

उहाँले ४ उपप्रधानसहित २० मन्त्री र ३ राज्यमन्त्री नियुक्त गर्नुभएको छ । दुई मन्त्रालय रिक्त छन् । २०६४ देखि अहिलेसम्म संविधानसभा र प्रतिनिधिसभामा १ हजार ७ सय ५२ जना र राष्ट्रियसभामा ९९ जना सांसद बनेका छन् । १३ जना प्रधानमन्त्री बन्दा २ सय ८८ जना मन्त्री बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *