Main News

महिला ट्राफिकका चुनौती– चालकले टेर्दैनन्, अपशब्द सुन्नुपर्छ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ ७ गते २०:५९
महिला ट्राफिकका चुनौती– चालकले टेर्दैनन्, अपशब्द सुन्नुपर्छ (भिडियो रिपोर्टसहित)

७ माघ २०७९ काठमाडौं । सडकमा सवारी व्यवस्थापनका लागि खटिने ट्राफिकले प्रहरी दैनिकजसो धुलो, धुँवा, घाम र पानीको सामना गरिरहनु पर्छ । यी प्राकृतिक बाहेक महिला ट्राफिक प्रहरीलाई थुप्रै अप्राकृतिक चुनौती छन् ।

चालकलाई ट्राफिक नियम पालना गराउन खटिएका महिला ट्राफिक प्रहरी आफैं अपशब्दको शिकार हुनुपर्छ । दुर्घटना रोक्न खटिएकाहरु आफै दुर्घटनाको शिकार बन्नुपर्छ ।

यो काठमाडौंको थापथलीको चोक हो । यहाँ त्रिपुरेश्वरतर्फ जाने, ललितपुर तर्फ जाने, माइतिघर मण्डला तर्फ जाने र बबरमहल तर्फ जाने सवारीको लाम छ ।

व्यस्त सडकमा पैदलयात्रीको आवतजावत पनि भइरहेको छ। यी भीडको बीचमा उभिएर सवारी व्यवस्थापन गर्ने प्रयास गरिरहनु भएको छ ट्राफिक प्रहरी जवान बिनिता थपलिया । बिनिताको हातका सेता पञ्जाको रंग फेरिदिएको छ, यहाँको धुलो र धुवाँले । बिहान लगाएका सफा पञ्जा धुलोले मैलो भएका छन् ।

उहाँले लगाएको निलो रंगको ज्याकेट पनि धुलोले खैरो भएको छ । नाक र मुख जोगाउन लगाएको मास्कले पनि छैक्दैन धुलो र धुँवा । डिउटीमा आउँदा सफा पोशाकमा आउने बिनिता फर्किएर कोठामा पुग्दै आफ्नै स्वरुप फेरिएको पाउनुहुन्छ ।

काठमाडौंका व्यस्त चोकमा उभिइरहनु पर्छ, दैनिकरुपमा धुनुपर्छ आफ्ना पोशाक । गर्मी महिनामा त जसोतसो लुगा सुकिहाल्छन् तर जाडोको बेलामा चिसै भए पनि लगाएर हिँड्नुपर्ने बाध्यता छ ।

सडकमा जाम हुन नदिन उहाँले सवारी साधनलाई एकतर्फी रुपमा रोक्दै अर्कोतर्फ रोकिएका गाडीलाई जान इशारा गर्नुहुन्छ। १६ वर्ष भइसकेको छ बिनिता यस क्षेत्रमा खटिएको । यो अवधिमा सडकमा हुने जाम, धुँवा धुलो हावा पानीको एउटा सकस त छ नै त्यसबाहेक महिला भएका कारण पुरुष चालकले नटेर्ने गरेको तितो अनुभव पनि उहाँसँग छ ।

थापथली चोकमा खटिएकी जयन्ती कुमारी बोहोराको दैनिकी पनि बिनिताको भन्दा भिन्न छैन। जयन्तीको शिक्षिका बन्ने सपना थियो । तर कक्षा १० पछि रोजगारी गर्नुपर्ने बाध्यात्मक अवस्था आइलाग्यो । १८ वर्ष भयो नेपाल प्रहरीमा भर्ति भएको। पहिलोपटक थापाथली चोकमा उभिएर चार दिशाबाट आउने गाडीलाई निर्देशन गर्दा कम्ता सकस भएको थिएन ।

केही डर पनि थियो । गाडी चालक पनि उस्तै अटेर गर्थे । केही दिन त ट्राफिक नियम उल्लंघन गर्न खोजिरहेका गाडी रोक्न र कारबाही गर्नसमेत धौधौ पर्‍यो उहाँलाई । दिउँसोको समयमा गाडीको चाप बढ्छ । त्यस्तोमा ट्राफिक नियम मिच्नेहरु धेरै हुन्छन् । नियम मिच्नेहरु उल्टै आफूविरुद्ध अपशब्दमा उत्रिन्छन् ।

बिनिता र जयन्ती प्रतिनिधि पात्र मात्र हुन् । उपत्यकाभरीका १४१ जना महिला ट्राफिक प्रहरी यस्तै छ । विभिन्न चोक र गल्लीमा १२ देखि १८ घण्टासम्म खट्ने ट्राफिक प्रहरीलाई छुट्टै सेवा सुविधा छैन ।

सामान्य तलब र सुविधा पाउने उनीहरुले कतिपय अवस्थामा गम्भीर रोग र चोटकोसमेत सामना गर्नुपर्छ । अनियन्त्रित रुपमा सवारी चलाउने र कतिपय अवस्थामा ट्राफिकलाई देखेपछि भाग्न खोज्ने चालकका कारण ट्राफिक प्रहरीहरु सवारीको ठक्करमा पर्ने र घाइते हुने गरेका घटनासमेत छन् । घाइते भए पनि चोट बोकेरै सडकमा खट्न अभिषप्त देखिन्छन् कतिपय ट्राफिक ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *