राजनीति

कांग्रेसको राष्ट्रपति उम्मेदवार बाबुराम भट्टराई ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ ६ गते २१:१०
कांग्रेसको राष्ट्रपति उम्मेदवार बाबुराम भट्टराई ! (भिडियो रिपोर्टसहित)

६ माघ २०७९ काठमाडौं । नेपाली राजनीतिमा बाह्य चासो ह्वातै बढेको छ । प्रधानमन्त्री को भन्दा पनि नेपाली राजनीतिको प्रमुख शक्ति केन्द्र हुनसक्ने शीतल निवासमा कसलाई पुर्याउँदा फाइदा हुन्छ भन्ने ‘एक्सरसाइज्’मा अमेरिका, चीनदेखि भारतसम्म लागिपरेको जानकार बताउँछन् ।

त्यसमा पनि भारत ‘ओपन सेक्रेट’का रुपमा राष्ट्रपति बनाउने खेलमा लागेको छ । पश्चिमा र भारतको प्रभावमा कांग्रेसले राष्ट्रपतिको दाबी गरिरहँदा सत्तारुढ एमाले भने माओवादी र गठबन्धनका घटकहरुको साथमा राष्ट्रपति आफैंले पाउने आशमा छ । तर, भित्रि चलखेल माओवादीलाई सकसमा पारेर बाबुराम भट्टराईलाई उम्मेदवार बनाउने कांग्रेसको दाउ सुरु भएको चर्चा सतहमा आएको छ ।

प्रधानमन्त्रीको दौड हापेको कांग्रेसले सभामुखमा उम्मेदवारी दियो। प्रधानमन्त्रीमा प्रतिस्पर्धा र सभामुखमा चाहिँ सहमति गरेको भए प्रमुख प्रतिपक्षीको हैसियतमा नैतिक र कानूनी सन्देह हुँदैनथ्यो। प्रधानमन्त्रीलाई विश्वासको मत दिएर केपी ओलीकै शब्दमा ‘ढोक्सा’ थापेको कांग्रेसले सभामुखमा पराजय व्यहोरेपछि उद्घोष गर्यो, ‘हामीले ल्याउने राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति हुन्छ।’

सत्ता साझेदार सात दलले पुस १० गते नै राष्ट्रपति र सभामुख एमालेकै हुने सहमति गरेका थिए। त्यहीअनुसार सभामुख त निर्वाचित नै भइसके। जसले जे दाबी गरेपनि सत्ता साझेदारका तर्फबाट राष्ट्रपतिको उम्मेदवार आफूले दिने र कसैलाई रहर भए त्यसैमा समर्थन गर्न एमालेले खुलैरुपमा भनिसकेको छ।

राष्ट्रपतिका लागि आफूले ल्याउने पात्रमा सबै दलले समर्थन गर्ने आधार के भन्नेबारे कांग्रेसले मुख खोलिसकेको छैन । आधार विस्तारै खुल्ने उसको भनाइ छ। प्रधानमन्त्रीले पुष्पकमल दाहालले राष्ट्रपति निर्वाचनमा दलीय समझदारीको अधिकत्‌म प्रयास गरिने बताएर कांग्रेसको चाहनामा मलजल चाहिँ गरिरहेका छन्।

सत्ता साझेदार दलबीच भएको सहमति जान्दा–जान्दै कांग्रेसले आफ्ना प्रस्ताव नै राष्ट्रपति हुने दाबी किन गर्योरु के माओवादी केन्द्र एमालेलाई धोका दिएर कांग्रेसको दाबी पूरा गर्न राजी होलारु प्रश्न उठेको छ।

राष्ट्रपति र सभामुख नै एमालेबाट निर्वाचित भए फेरि राजनीतिक दुर्घटना हुने कांग्रेसको दाबी छ। त्यसैले उ सभामुखमा नसकेपछि राष्ट्रपतिमा एमालेलाई रोक्न चाहान्छ। कांग्रेसको यो चाहनामा अन्तर्राष्ट्रिय चासो र चिन्ताको मात्रा पनि उत्तिकै घुलेको छ। पुस १० गते दिउँसोसम्म प्रधानमन्त्री तपाईं नै हो भनेर देउवालाई आश्वस्त पारेको शक्तिले नै कांग्रेसको चाहनामा बाहिरबाट बल दिइरहेको छ। आफ्ना केही नेताको दक्षिण दौडाहपछि कांग्रेस एमाले रोक्ने अभियानमा थप सक्रिय हुन थालेको हो।

कांग्रेससहित उसलाई बल दिने शक्ति त्यस्तो पात्र नजिक पुगेका छन्, जसबारे अन्तर्राष्ट्रिय समुदाय विश्वस्त होस्। र, नेपालमा पनि कांग्रेस र माओवादी केन्द्रलाई सहजै इन्कार गर्न नसकून्। को होलान् त त्यस्ता पात्र ?

कांग्रेसका एक पदाधिकारीले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मतका रुपमा अगाडि सार्ने नभए बाहिरबाट खोज्ने बताएका छन् । उनका अनुसार माओवादीलाई दबाबमा राख्न नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराई वा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ राष्ट्रपतिका उम्मेदवार हुन सक्छन् ।

निकट स्रोतले कांग्रेससहित विपक्षी दलका तर्फबाट राष्ट्रिय सहमतिका लागि भन्दै भट्टराईलाई राष्ट्रपतिको उम्मेदवार बनाउनेबारे प्रारम्भिक छलफल सुरु भएको जनाएको छ। तर, अपरिपक्व नै रहेको भन्दै यसबारे औपचारिक मुख खोल्न चाहिँ कोही तयार छैनन्। राजनीतिका जानकार यसअघि नै भित्रीरुपमा चर्चा भएको विषय र पात्र सतहमा आउन लागेको मात्रै ठान्छन्। एमाले र माओवादीबीच दूरी बढाउने उद्देश्यमा बाबुरामलाई प्रस्तुत गरिने संभावनालाई उनीहरु पनि नकार्दैनन्।

कांग्रेससहितका दलले राष्ट्रपतिमा बाबुरामलाई अगाडि सारे भने माओवादी केन्द्र चेपुवामा पर्ने छ। किनकि, उसले सहजै इन्कार गर्न सक्ने पात्र होइनन् बाबुराम। अझ पुष्पकमल र बाबुरामको नेतृत्वमा रहेका दल एकताको तयारीमा रहेका कारण बाबुराम राष्ट्रपति हुँदा प्रधानमन्त्री दाहाल थप बलिया हुनेछन्। भट्टराईलाई अघि सार्दा ओली–दाहालको दूरी बढेर सरकारमा पर्ने असर साढे दुई वर्ष कांग्रेसले सम्हाल्ने र प्रचण्डबाट देउवालाई सत्ता हस्तान्तरण गराउने योजना बनाउन थालिएको बताइन्छ।

भट्टराईको नाममा राष्ट्रिय सहमति बन्न सक्ने, नबने एमालेले दिने उम्मेदवारसँग प्रतिस्पर्धा गराएर निर्वाचित गराउने योजनाको पृष्ठभूमिमा कांग्रेसका प्रवक्ताले बिहीबार ‘कांग्रेसले प्रस्ताव गर्ने व्यक्ति नै राष्ट्रपति बन्ने’ दाबी गरेका हुन् भन्ने केहीको दाबी छ। जसको स्वतन्त्र पुष्टि भने भइसकेको छैन। बाबुराम स्वयम् र उनको दलले पनि यसबारे कुनै संकेत गरेका छैनन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्