Main News

मिर्गौला प्रत्याराेपणले दिलाएको खुसी (भिडियो रिपोर्टसहित)

२०७९ माघ ६ गते २१:००
मिर्गौला प्रत्याराेपणले दिलाएको खुसी (भिडियो रिपोर्टसहित)

६ माघ २०७९ काठमाडौं । मिर्गौला पीडितले डाइलासिसका लागि महिनौ कुर्दा पनि पालो पाउँदैनन । यस्तो अवस्थामा मिर्गौला प्रत्यारोपण त धेरै परको कुरा हो । यही अप्ठ्याराकाबीच मिर्गौला प्रत्यारोपण गर्न पाएकाको खुसी हेर्न लायकको हुन्छ ।

शुक्रबार कमलादीको राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक डाक्टर पुकारचन्द्र श्रेष्ठले एउटा खुसी सबैको सामु साट्नुभयो । त्यो खुसी थियो, केन्द्रले १० वर्षको अवधिमा एक हजार जनाको मिर्गौला प्रत्यारोपण गर्न सफल हुनु ।

यो खुसी साटेसँगै प्रज्ञा प्रतिष्ठानमा पुगेका सबैको ओठमा मुस्कान छायो नै । सबै भन्दा धेरै खुसी २४ वर्षीया सुश्रीया थापामगरको ओठमा छाएको थियो ।

सुश्रीयाको १९ वर्षको उमेरमा दुवै मिर्गौला फेल भयो । उहाँको आमा सुशीला थापामगर छोरीको मिर्गौला प्रत्यारोपणका लागि भारतसम्म धाउनुभयो तर केही सिप लागेन । अन्ततस् मस्तिष्क मृत्यु भएको व्यक्तिबाट मिर्गौला पाएसँगै, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा सुश्रीयाको ६ महिना अगाडि मात्रै मिर्गौला प्रत्यारोपण भयो ।

आफ्नै देशमा छोरीको निस्शुल्क मिर्गौला प्रत्यारोपण हुँदा सुश्रीयाको आमा शुशिला थापामगरको खुसीको सिमा छैन ।

नेपालमा सन् २००८ मा मिर्गौला प्रत्यारोपण सुरु भयो । यो अवधीमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र लगायत अस्पतालले २१ सय जनाको मिर्गौला प्रत्यारोपण गरिसकेका छन् । यो तथ्याकंले मिर्गौला प्रत्यारोपणमा नेपाल सक्षम छ भन्ने पुष्टि गर्छ कि गर्दैन त ?

विश्व स्वास्थ्य संगठनका अनुसार सन् २००८ मा नेपाल जस्ता विकासोन्मुख राष्ट्रमा ९० प्रतिशत मिर्गौलाका विरामीको केहि महिना भित्रै मृत्यु हुने तथ्याकं थियो ।

हालको तथ्यांक हेर्दा त्यो अवस्था फेरिएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मात्रै अहिले प्रत्यारोपण गरेका ९८ प्रतिशत र डाइलासिस गराईरहेका ९० प्रतिशत व्यक्तिहरु सहज जीवन बाँचेकाछन् । सरकारले काठमाडौंमा मात्रै सिमित रहेको मिर्गौला प्रत्यारोपणलाई सातै प्रदेशमा विस्तार गर्ने गरी तयारी समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *