Main News

काठमाडौं महानगरमार्फत् झिकाएका सुरक्षागार्डको बिचल्ली (भिडियो रिपोर्टसहित)

२०७९ माघ ६ गते १४:५८
काठमाडौं महानगरमार्फत् झिकाएका सुरक्षागार्डको बिचल्ली (भिडियो रिपोर्टसहित)

६ माघ २०७९ काठमाडौं । काठमाडौं महानगरपालिकाले कम्पनीमार्फत् झिकाएका सुरक्षागार्डको बिचल्ली भएको छ ।

दुई महिनाभन्दा बढि काम गर्दा पनि पारिश्रमिक नपाएपछि युनिक सेक्युरिटी कम्पनीले पठाएका सुरक्षागार्डले महानगरको प्रहरी बलमै धर्ना थालेका छन् । काम लगाएको दुई महिनापछि महानगरले मापदण्डको बखेडा झिकेर अन्याय गरेको उनीहरुको गुनासो छ ।

धर्नामा बस्ने यिनीहरु हुन्, काठमाडौंका नगर प्रहरी । तीन दिन भयो धर्ना दिन थालेको । धर्ना बस्नु पर्नाको कारण हो, तलव नपाउनु । अर्थात्, काठमाडौं महानगरपालिकाले काम लगायो । तर, दाम दिएन ।

काठमाडौं महानगरपालिकाले युनिक सेक्युरिटी कम्पनीमार्फत् महानगर प्रहरी बलका लागि १६२ जना जनशक्ति लिएको छ । महानगरपालिकाले तिनै १६२ जनालाई काम लगाएको दुई महिना भइसक्यो । तर, एक रुपैयाँ पनि तलब दिएको छैन ।

काम लगाएअनुसार पारिश्रमिक दिनुपर्ने बेलामा महानगरपालिका बल्ल सेक्युरिटी कम्पनीले तोकिएको मापदण्डअनुसार जनशक्ति पठाएको छ कि छैन भनेर हेर्न थालेको छ । काम लगाउनु अघि नै गर्नुपर्ने जाँचपड्ताल बल्ल गर्दैछ महानगर ।

काठमाडौं महानगरपालिले युनिक सेक्युरिटी कम्पनीसँग प्रति व्यक्तिलाई २० हजार ५ सय ३२ रुपैयाँ पारिश्रमिक दिने गरी सम्झौता गरेको छ । पोशाकको १३ हजार र रासनको ५ हजार पनि महानगरले दिनुपर्छ ।

तर, युनिक सेक्युरिटीले १५ हजार रुपैयाँ मात्रै दिने गरी यिनलाई काठमाडौं महानगरपालिका पठाएको हो । एक जना बराबर मासिक ५ हजार रुपैयाँ कम्पनीले नै खाइदियो । कम्पनीकै मासिक ५ हजार ठगाईमा परेका आफूहरुलाई महानगरले तलबै नदिएर झनै बिचल्ली बनाएको गुनासो गर्छन् धर्नाकारी ।

सम्झौताअनुसार यिनीहरुलाई तलव दिने दायित्व युनिक सेक्युरिटीकै हो । किनकि, यिनीहरुको एकमुष्ठ तलब महानगरले उसैले दिन्छ । तलब पठाउनु पर्ने बेलामा महानगरले मापदण्डको बखेडा समयमै पारिश्रमिक दिन नसकिएको युनिक सेक्युरिटीको भनाइ छ ।

कम्पनी महानगरले भुक्तानी रोकेका कारण तलब दिन नसकिएको भनेर पन्छिन्छ भने महानगर चाहिँ मापदण्डअनुसार जनशक्ति नपठाएका कारण समस्या आएको बताउँछ । मापदण्ड पूरा गर्नेको मात्रै काम गरेको पारिश्रमिक सम्झौताअनुसार कम्पनीलाई दिने आसय छ महानगरको ।

काठमाडौं महानगरपालिकाले कात्तिक २७ गतेबाट युनिक सेक्युरिटीमार्फत् जनशक्ति लिएको थियो । पठाउने र लिने दुबैले काम लगाउनु अघि नै मापदण्ड पूरा गरे÷नगरेबारे ध्यान नदिँदा काम गरेको पारिश्रमिकका लागि पनि धर्ना बस्नुपर्ने अवस्था आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *