Main News

सभामुख चयनका लागि मतदान हुँदै, एमालेका घिमिरे र कांग्रेसका न्यौपाने प्रतिस्पर्धामा

हिमालय टिभी
२०७९ माघ ५ गते ८:५७
सभामुख चयनका लागि मतदान हुँदै, एमालेका घिमिरे र कांग्रेसका न्यौपाने प्रतिस्पर्धामा

५ माघ २०७९ काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ ।

संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजे बस्ने बैठकमा सभामुख चयनसम्बन्धी प्रक्रिया अघि बढ्नेछ । सभामुख पदमा मनोनयन दर्ताका लागि हिजो दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म समयमा दिइएको थियो ।

जसमा दुई जना उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन् । एमालेका सांसद देवराज घिमिरे सत्ता साझेदार दलहरूको समर्थनमा उम्मेद्वार बन्नुभएको छ । नेपाली कांग्रेस तथा नेकपा एकीकृत समाजवादीलगायत दलहरूको समर्थनमा कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दिनुभएको छ ।

घिमिरे र न्यौपानेबीच सभामुखका लागि आज प्रतिस्पर्धा हुनेछ । एमालेका सांसद घिमिरेलाई एमालेसहित माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत दलहरूको साथ छ । प्रतिनिधि सभामा एमालेका ७९, माओवादीका ३२, रास्वपाका २० र राप्रपाका १४ जना सांसद छन् ।

सत्ता साझेदार अन्य दलहरूले पनि घिमिरेलाई साथ दिने सम्भावना छ । यस्तै गत पुस २६ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका तर सरकारमा सामेल नभएका कांग्रेस, नेकपा एकीकृत समाजवादीलगायत दलको समर्थनमा न्यौपाने सभामुखको उम्मेदवार बन्नुभएको छ ।

उहाँलाई जसपा र लोसपाले पनि साथ दिने सम्भावना छ । प्रतिनिधि सभामा काँग्रेसका ८९ सांसद भए पनि ८८ जनाले मात्रै मतदान गर्न पाउँछन् । नेकपा एकीकृत समाजवादीका १० जना सांसद छन् ।

जसपाले समर्थनमा गरेका उसका १२ जना सांसद छन् । त्यस्तै लोसपाको ४ जना सांसद छन् । दुई सय ७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि एक सय ३८ जना सांसदको समर्थन चाहिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *