Main News

सभामुखमा कांग्रेस नेत्री न्यौपानेको मनोनयन दर्ता

२०७९ माघ ४ गते १६:२२
सभामुखमा कांग्रेस नेत्री न्यौपानेको मनोनयन दर्ता

४ माघ २०७९ काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदका लागि नेपाली कांग्रेसका नेत्री ईश्वरीदेवी न्यौपानेले मनोनयन दर्ता गराउनुभएको छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा व्यवस्था गरिएको निर्वाचन अधिकृतकको कार्यालय पुगेर उहाँले मनोनयन दर्ता गराउनुभएको हो ।

उहाँको प्रस्तावकमा पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वाला हुनुहुन्छ । उहाँको जन्म २०१६ सालमा दाङमा भएको थियो । उहाँ समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित हुनुभएको हो ।

न्यौपाने नेपाली कांग्रेसको १२औँ महाधिवेशनदेखि केन्द्रीय सदस्यका रुपमा रहनुभएको छ । उहाँ २०६४ र २०७० सालको संविधानसभा सदस्य हुनुहुन्थ्यो । तत्कालीन व्यवस्थापिका–संसद्मा उहाँ पार्टीको सचेतक हुनुहुन्थ्यो । विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गुर्नभएका उहाँ नेपाल महिला सङ्घको केन्द्रीय उपाध्यक्ष भइसक्नुभएको छ ।

आज अपराह्न १ देखि ४ बजेसम्म सङ्घीय संसद् भवनमा प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिने कार्यतालिका तोकिएको थियो । निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारको सूचनाको दर्ताअनुसारको सूची आजै प्रकाशित गरिने छ ।

यसअघि आजै सभामुख पदका लागि सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले)का सांसद देवराज घिमिरेले पनि मनोनय दर्ता गराउनुभएको छ । प्रतिनिधिसभाका सभामुखको निर्वाचन यही माघ ५ गते बिहान ११ बजे हुँदैछ । उक्त बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ ।

त्यसलगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिनेछ । प्रतिनिधिसभाको गत पुस २६ गतेको बैठकले माघ ५ गते सभामुखको निर्वाचन गर्न आज निर्वाचन तालिका प्रकाशित गर्न निर्देशन दिएको थियो । सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *