Main News

कलिला बालबालिकालाई प्रवेश परीक्षाको बोझ (भिडियो रिपोर्टसहित)

२०७९ माघ ३ गते २१:१४
कलिला बालबालिकालाई प्रवेश परीक्षाको बोझ (भिडियो रिपोर्टसहित)

३ माघ २०७९ काठमाडौं ।आफ्नो छोराछोरीलाई सरकारी विद्यालयमा नभइ, निजी विद्यालयमा पढाउन अभिभावक लागि परेका छन ।

निजीमा मात्रै होइन, नाम चलेका विद्यालयमा पढाउन अझै धेरै कसरत छ । तर निजी विद्यालयले कक्षा १ मा भर्ना हुनका लागि प्रवेश परीक्षा लिइरहेका छन । जबकी यस्तो परीक्षा नलिन सरकारले बारम्बार निर्देशन दिइसकेको छ ।

काठमाडौंका सुरेन्द्र रिमाल ६ वर्षका छोरालाई कक्षा १ मा भर्ना गराउन लिइने प्रवेश परीक्षाको कारण केही समय व्यस्त हुनुभयो । उहाँ व्यस्त मात्रै हुुनुभएन, केही समय तनाब पनि भयो । उहाँलाई भन्दा बढी उहाँको छ वर्षका छोरालाई बढी नै तनाव भयो ।

कक्षा १ मा भर्नाको लागि काठमाडौंका नाम चलेका भनिएका विद्यालयहरुले प्रवेश परीक्षामा उतीर्ण भएपछि मात्रै विद्यार्थी लिने गरेका छन् । जस्का कारण सुरेन्द्र मात्रै होइन, हजारौं अभिभावक र बालबालिका दबाबमा थिए । तर सरकारले गरेको एक निर्देशनले सुरेन्द्र जस्ता हजारौं अभिभावकलाई राहत भएको छ ।

त्यो निर्देशन हो, पुस २५ गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव विकास केन्द्रले दिएको निर्देशन । केन्द्रले देशभरीका विद्यालयलाई कक्षा १ मा प्रवेश परीक्षा सञ्चालन नगर्न नगराउन निर्देशन दिएको छ । यो निर्देशनका कार्यान्वयन जसरी पनि हुनुपर्ने अभिभावकको माग छ ।

अभिभावक नाम चलेका विद्यालयमा आफ्नो छोराछोरी पढाउन होडबाजी गरिरहेका छन् । यसको फाइदा उठाउँदै निजी विद्यालयले विद्यार्थीको प्रवेश परीक्षा र त्यसको चर्को शुल्क लिइरहेका छन ।

यो विषय सुल्झाउन तत्कालीन जिल्ला शिक्षा कार्यालयहरुले सरोकारवालासँग २०६६ सालबाट छलफल थालेको थियो । तर, मन्त्रालयस्तरमा यो विषयले प्रवेश पाउन सकेन । तर, मन्त्रीलाई नै प्रभावमा पारेको शैक्षिक माफियाका कारण छलफल हुन नसकेको जानकार बताउँछन् । तर, निजि विद्यालय सञ्चालक भने सरकारले लागु गरे कार्यान्वयन गर्न समस्या नभएको बताउँछन् ।

हुन त, २०६६(६७ मा नै कक्षा १ मा प्रवेश परीक्षा नलिने विषयमा शिक्षा मन्त्रालय लगायतका सरोकार निकायमा छलफल भैरहेको थियो । प्रवेश परीक्षा लिने विषयलाई निरुत्साहित पार्न तत्कालिन जिल्ला शिक्षा कार्यालयहरु पनि लागि परिरहेकै थिए । तर ठूला ठूला निजी विद्यालयको प्रभावमा परेर सरकारले कार्यान्वनमा आँखा चिम्लिदियो । अहिले पनि त्यस्तै अवस्था कायम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *