Main News

माघे संक्रान्तिले तरुलमय भयो बजार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष ३० गते २०:३८
माघे संक्रान्तिले तरुलमय भयो बजार (भिडियो रिपोर्टसहित)

३० पुस २०७९ काठमाडौं । साउनमा हिलोमा पस्नु कात्तिकमा भुँई छाड्नु भन्ने चलन बसाएका पुर्खाले हरेक मौसम अनुसार खानेकुराको विधि बसाएका छन् । कुन मौसममा के खाने र के नखाने भन्ने नियम यो वैज्ञानिक युगमा पनि स्वास्थ्यका दृष्टिकोणले प्रभावकारी पुष्टि भएको छ ।

माघको चिसोमा घिउ, चाकु, तिलको लड्डुसँगै प्राकृतिक रुपमा उत्पादन हुने तरुल, सखरखण्ड र पिँडालु खाने चलन छ । अहिले बजारमा यस्ता कन्दमुल किन्नेको भीड लागेसँगै मूल्य पनि बढेको छ ।

माघे संक्रान्तिमा तरुल, सखरखण्ड, पिंडालु जस्ता कन्दमुलको विशेष महत्व छ । त्यसैले अहिले बजारमा यस्ता कन्दमुल किन्नेको भिड लागेको छ ।

तरुल, सखरखण्ड लगायतका कन्दमूलबिना माघे संक्रान्ति पर्व नै अधुरो हुन्छ । प्रायः सबै जाति र समुदायले मनाउने माघे संक्रान्ति पर्वमा घ्यू चाकु,सख्खर र तरुलको राम्रै व्यापार हुँदै आएको छ । जाडोको समयमा गर्मी बनाउने परिकारका रुपमा समेत चिनिने यी वस्तुको बजार बढेसँगै व्यापारीले पनि मूल्य ह्वात्तै बढाएका छन् ।

काठमाडौंमा नवलपरासी, चितवन, धादिङ, पाल्पा, सर्लाही, धरान, सुनसरी लगायतका जिल्लाबाट तरुल आयात हुने गरेको छ । मकर संक्रान्तिलाई लक्षित गरी दैनिक ८० देखि १ सय टनसम्म तरुल भित्रिइरहेको छ ।

बजारमा हात्तीपाइले तरुल, वन तरुल, सेतो तरुल, रातो तरुल, घर तरुल, पानी तरुललगायत विभिन्न किसिमको तरुल पाइन्छ । तरुलको मूल्य पनि फरक–फरक छ । वन तरुलको मूल्य प्रतिकेजी २ सय ५० देखि ४ सय रुपैयाँसम्म छ त्यस्तै पातले सेतो तरुल र मुढेको सेतो तरुलको मूल्य ५० देखि ७० रुपैयाँ प्रतिकेजी रहेको छ । विगत वर्षका तुलनामा यो वर्ष तरुलको मुल्य पनि वृद्धि भएको व्यवसायी बताउँछन् । मूल्य वृद्धि हुँदा विक्रि घटेको उनीहरुको अनुभव छ ।

माघी पर्वको अवसरमा तरुल, सिमल तरुल, सखरखण्ड, पिडालु, जस्ता परिकारहरु घर–घरमा पकाइन्छ । एकातिर परम्परा र अर्कोतिर सहरमा बस्नेहरुका लागि नयाँ स्वादसमेत हुने भएकाले पनि माघे संक्रान्तिको समयमा बजार तरुलमय हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *