Main News

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठमाथि ठगी आरोप (भिडियो रिपोर्टसहित)

२०७९ पुष ३० गते १८:२३
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठमाथि ठगी आरोप (भिडियो रिपोर्टसहित)

३० पुस २०७९ कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सांसद बनेका ढाकाकुमार श्रेष्ठलाई लाखौँ रकम हिनामिना गरेको आरोप लागेको छ ।

पोखरा रत्नचोकस्थित साथी किसान सहकारी संस्थाका अध्यक्ष रहेका श्रेष्ठले आफ्नो कार्यकालमा सेवाग्राहीको रकम फिर्ता नगरेको आरोप छ । आरोपमा कुनै सत्यता नभएको बताएपनि सहकारीको नयाँ कार्यकालबाट चुनिएका अध्यक्षले यसअघिको नेतृत्वको पुरानो टिमले नै रकम नदिएको ठोकुवा गरेपछि विवाद सतहमा आएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेका ढाकाकुमार श्रेष्ठ नेतृत्वमा रहेको साथी किसान सहकारी संस्थाले बचतकर्ताको रकम नदिएको आरोप छ । रास्वपाले सांसद निर्वाचित गर्नुअघिसम्म कास्कीका श्रेष्ठ यो सहकारीको अध्यक्ष हुनुहुन्थ्यो । उहाँकै कार्यकालमा सहकारीमा संकट आइसकेको थियो ।

बचतकर्ताको रकम अन्यत्र लगानी गरेको आरोप लागेका सांसद श्रेष्ठले आफू निर्वाचित हुने भएपछि नेतृत्व हस्तान्तरण गर्नुभयो । कात्तिक ९ गते यो सहकारीको अध्यक्षमा सनी पाठकलाई ल्याइयो । सहकारीले नयाँ नेतृत्व पाउँदासम्म पनि बचतकर्ताले आफ्नो रकम निकाल्न पाएनन् । उनीहरुले आफ्नो गुनासोसहित पोखरा महानगरपालिकामा निवेदन दिए । निवेदनका सन्दर्भमा संस्था र पीडित पक्षलाई महानगरले छलफलमा बोलायो । छलफलमा पाठक नेतृत्वको नयाँ नेतृत्वले श्रेष्ठ नेतृत्वकै पुरानो समिति नै दोषी रहेको आरोप लगायो ।

श्रेष्ठ यसअघि नै बचत र भुक्तानी मिलाउन नसके पछि आर्थिक अवस्था डामाडोल भएको भन्दै सहकारी बन्द गरेर पन्छिन खोज्नुभएको थियो । सहकारीले विशेषगरी कुखुरापालन तथा मासु व्यवसायलाई सहयोग गर्दै आइरहेको थियो ।

किसानलाई दाना, चल्ला उपलब्ध गराउने र उनीहरूबाट हुर्केका कुखुरा खरिद गरेर विक्री गर्ने काम गर्दै आइरहेको छ । तर, कुखुराको मासु बिक्री भएको करिब १ करोड रकम संस्थामा नआए पछि सहकारी सञ्चालन हुने अवस्था छैन । विवादमा मुसिएपछि शुक्रबार पत्रकार सम्मेलन गरेका श्रेष्ठले बजारबाट रकम उठ्न बाँकी रहेको भन्दै पन्छिन खोज्नुभएको छ ।

सहकारीमा विभिन्न शीर्षकमा बचतकर्ताको करिव ८२ लाख रुपैयाँ छ । उक्त रकम फिर्ताको माग गदै बचत कर्ता अहिले पोखरा महानगरमा गुहार माग्न पुगेका छन् ।

१ सय ५ सदस्य रहेको सहकारीमा २५ हजारदेखि एक लाखसम्मको लगानी छ । प्राप्त हुनुपर्ने १ करोड रकमको कुनै पनि बिल भरपाई नदेखिएको हालको कार्यसमितिले बताएको छ । श्रेष्ठलाई आरोप लागेपछि अहिले आफै सक्रिय भएर रकम उठाउन लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *