राजनीति

शक्तितिर मात्र लरक्क हुने दीपक मनाङेको राजनीति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष ३० गते १६:०४
शक्तितिर मात्र लरक्क हुने दीपक मनाङेको राजनीति (भिडियो रिपोर्टसहित)

३० पुस २०७९ कास्की । गुण्डा नाइकेका रुपमा परिचय बनाएका राजीव गुरुङको ठमेलबाट सुरु भएको अपराध यात्रा राजनीतितर्फ मोडिएको छ । अपराधको दुनियाँमा रमाउँदै गुरुङ दीपक मनाङेका रुपमा चिनिनुहुन्छ । उहाँ आपराधिक गतिविधिमा जोडिँदै जाँदा प्रहरी प्रशासनबाट जोगिन राजनीतिलाई अस्त्र बनाउन पुग्नुभयो । त्यहीबाट उहाँको राजनीतिक संगत बाक्लियो । अहिले सत्ताकै लागि राजनीतिलाई गुरुङले मजाक बनाउनुभएको छ ।

दीपक मनाङेको राजनीतिक यात्रा
–२०६८ सालमा राप्रपा प्रवेश
–२०६८सालमा नै लक्ष्मण चौधरीको संघीय समाजवादी पार्टीमा प्रवेश
–संघीय समाजवादी पार्टीमा प्रवेश गरेका गुरुङ केही समय राजनीतिक भूमिकाबाट गुमनाम बने
–२०७३ पुसमा २८ गते पुनः राप्रपा प्रवेश र मनाङ जिल्ला समितिको अध्यक्ष पाए
–२०७४ असोजमा १९ नेकपा एमाले प्रवेश
–२०७४ मा नेकपा एमालेबाट टिकट नपाए पछि स्वतन्त्र उम्मेदवारी दिए
–२०७५ माघ १५ गते गण्डकी प्रदेश सभा सदस्यको शपथ लिए
–२०७६ असार १९ गते फेरि नेकपा एमाले प्रवश गरे
–२०७८ वैशाख १६ मा गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री बने
–२०७९ मंसिरमा १९ गते एकीकृत समाजवादीमा प्रवेश

सांसद बनेपछि गण्डकी प्रदेश सरकारमा दीपक मनाङे कहिले खाली हात बस्नु परेन। अर्थात् जुन पार्टीको सरकार बने पनि उहाँ मन्त्री नै भइरहनुभयो । पाँच वर्षे कार्यकालमा गण्डकी प्रदेशमा सबैभन्दा धेरै पटक मन्त्री बन्ने रेकर्ड मनाङेकै नाममा छ।

मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा उहाँविरुद्ध कुनै दलले उम्मेदवारी नै दिएन। कुनै बेला डनको पहिचान बनाएका दीपक सर्वमान्य नेताका रुपमा स्थापित हुनुभयो मनाङमा । जति नै छवि बिग्रिए पनि एमाले र कांग्रेसको सरकार निर्माणमा मनाङे किङ्ग मेकर बन्नुभयो। मन्त्री हुँदा उहाँका हर्कत चर्चामा आइरहे तर उहाँ फेरिनुभएन।

गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो पद नै धरापमा पार्ने भएपछि दीपक मनाङेलाई मन्त्री बनाउनुभयो । त्यसबेला मनाङेले खेलकुद मन्त्रीका रुपमा शपथ लिनुभयो। त्यसपछि पृथ्वीसुब्बाले मुख्यमन्त्रीबाट राजीनामा दिनुभयो। एमाले विभाजनपछि मनाङे विपक्षी गठबन्धनलाई सहयोग गर्न पुग्नुभयो।

त्यस्तै, उहाँ फेरि गठबन्धनको तर्फबाट मन्त्री बन्नुभयो। मनाङ प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवारी दिएका मनाङे पुनः सांसद बन्नुभएको छ । यसपटक पनि मन्त्री बन्न उहाँ पुरानै फर्मुला अपनाउने तयारीमा हुनुहुन्थ्यो । कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा एकीकृत समाजवादी प्रवेश गरेर मन्त्री बन्ने मनाङेको चाहना थियो । तर, समीकरण नै फेरियो ।

एमाले नेता खगराज अधिकारीसँग मन्त्रीको बार्गेनिङ गर्न मनाङेले अन्तिमसम्म प्रयास गरेपनि सफल हुन सक्नुभएन । त्यसैले समर्थन फिर्ता नै लिनुभयो । एमालेको २२, माओवादी केन्द्रको ८, राप्रपाको २ सहित सरकारमा गए। नेकपा एमालेका नेता अधिकारीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दावी पेश गर्दा समर्थन दिएका उहाँले बिहीबार बेलुका फेसबुकमा भने आफू प्रतिपक्षमा बस्ने लेख्नुभएको हो ।

सरकारलाई विश्वासको मत लिन समस्या नभएकाले आफू प्रतिपक्षमा बस्ने निर्णय गरेको बताएका छन् । जता मल्के, उतै ढल्के भने झैं शक्तितिर मात्र लरक्क भएका मनाङेको राजनीतिक पृष्ठभूमि हेर्ने हो भने पनि यो प्रष्टै हुन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्