Main News

कांग्रेसले किन दियो प्रचण्डलाई विश्वासको मत ? यस्तो छ चाल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष २९ गते २०:५०
कांग्रेसले किन दियो प्रचण्डलाई विश्वासको मत ? यस्तो छ चाल (भिडियो रिपोर्टसहित)

२९ पुस २०७९ काठमाडौं । तत्कालीन सत्ता गठबन्धनमा रहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री पद दिन नमानेको नेपाली कांग्रेस अचानक गठबन्धन भत्किएर आफू प्रतिपक्ष बनेपछि पनि प्रचण्डप्रति नरम बन्यो ।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीसहित १ सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डलाई आवश्यक नै नभएको विश्वासको मत दिन कांग्रेस तयार भयो । के कांग्रेसले सभामुख र राष्ट्रपति पदका लागि रणनीतिक तयारी गरिरहेको त होइन ?

लोकतान्त्रिक प्रणालीमा प्रतिपक्षविहीनताको परिकल्पना नै गरिँदैन । तर यही लोकतन्त्रको दुहाई दिने कांग्रेस बलियो प्रतिपक्षी भएर सरकारका काममा खबरदारी गर्नुपर्नेमा प्रचण्डलाई विश्वासको मत दिन तयार भयो । पार्टीमै फरक मतका बाबजुद कांग्रेस सभापति शेरबहादुर देउवा जसरी पनि प्रचण्डलाई विश्वासको मत दिने पक्षमा उभिनुभयो । कांग्रेसले अचानक रोजेको अस्वभाविक बाटोले त्यसका पछाडि के स्वार्थ छ त भन्नेमा आशंका उब्जिएको छ । विश्वासको मत दिएर चामत्कारिक उपलब्धिको रस्वादान गराउने सभापति देउवाको अठोटले अब कांग्रेसको यो रणनीतिक चालको गन्तव्य के होला भन्ने चासो बढेको छ ।

माघ ५ गते प्रतिनिधिसभाको सभामुखको निर्वाचन हुँदैछ । हालको सत्ता गठबन्धनमा भएको सहमति अनुसार सभामुख पद एमालेको भागमा परेको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले ताकेको पहिलो कार्यकारी पद सभामुख हो । प्रचण्डलाई विश्वासको मत दिँदै गर्दा कांग्रेसले सभामुख पदमा सहयोग मागेको हो कि भन्ने चर्चा छ ।

८८ मत रहेको कांग्रेसले हाल २ सय ७४ सदस्य कायम रहेको प्रतिनिधिसभाको सभामुख पदमा कसको आड भरोसामा उम्मेदवारी दिँदैछ त ? यहाँ शंकाको सुविधा छ ।

त्यो भन्दा पनि अर्को रणनीतिक चाल राष्ट्रपति पदका लागि हुनसक्छ । २०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेयताका विभिन्न घटनाक्रमले राष्ट्रपतिलाई थप शक्तिशाली बनाइरहेका छन् । पछिल्लो पटक नागरिकता विधेयक परमाणीकरण नगरेको घटना र त्यसपछि रेशम चौधरीलाई थुनामुक्त गर्ने गरी सरकारले कानून संशोधन गर्न ल्याएको विधेयकसम्म आइपुग्दा राष्ट्रपति पद हिजो परिकल्पना गरिएको जस्तो खाली ‘संवैधानिक’ मात्र रहेन ।

यसका कारण यतिबेला राष्ट्रपति पद सबैको चासोमा परेको छ । यसकारण अब सभामुख पदमा माओवादीबाट सहयोग अपेक्षा गर्दै विश्वासको मत दिन तयार भएको कांग्रेसको अर्को रणनीतिक चाल राष्ट्रपति पदमा केन्द्रित हुन सक्छ । संविधानको धारा ६२ अनुसार प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट राष्ट्रपति चयन हुन्छ ।

प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यको गोप्य मदतानबाट चुनिने पद भएकाले यो पदमा पनि कांग्रेसले माओवादीबाट आश गरेको हुन सक्छ । हाल देशको जनसंख्याअनुसार राष्ट्रपति पदका लागि संघीय सांसद एक जना बराबर ८७ मतभार हुन्छ भने प्रदेश सभा सदस्यको मतभार ५३ हुन्छ ।

हाल संघ र प्रदेशमा गरेर कांग्रेसको मतभार १७ हजार ८०३ छ ।
एमालेको १६ हजार ८८५
माओवादीको ८ हजार ५२२
एकीकृत समाजवादीको २ हजार ९३१
राष्ट्रिय प्रजातन्त्र पार्टीको २ हजार ०१४
जसपाको २ हजार २५९
राष्ट्रिय स्वतन्त्र पार्टीको १७ सय ४०
जनमत पार्टीको १३ सय ७०
नागरिक उन्मुक्ति पार्टीको ९ सय ८४
लोकतान्त्रिक समाजवादी पार्टीको १ हजार ७१
नेपाल मजदुर किसान पार्टीको २ सय ४६
तथा जनमोर्चाको १४० मतभार

यसबाहेक स्वतन्त्र सांसदको संघ र प्रदेशमा गरेर झण्डै १ हजार मतभार रहेको छ ।

योमध्ये नेपाली कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवार उठाउने र माओवादीका केही सांसदले मात्रै सहयोग गरिदिने हो भने नतिजा कांग्रेसको पक्षमा पर्न सक्छ ।

माओवादीलाई फकाउँदै गर्दा कांग्रेसले नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी जसपा, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमोर्चा तथा मजदुर किसान पार्टी र स्वतन्त्र सांसदहरुलाई पनि हातमा लिन सके राष्ट्रपति निर्वाचनमा कांग्रेसको पल्लाभारी हुन सक्छ ।

संसदभित्र फ्लोर क्रस जस्तो नदेखिने मतदानमा माओेवादीबाट यही खालको समर्थन प्राप्त गर्ने आशमा कांग्रेसले यतिबेला प्रचण्डलाई विश्वासको मत दिएर विश्वास आर्जन गर्न खोजेको त होइन रु भन्ने प्रश्न पनि कतिपयले उठाएका छन् ।

यस्तो हुनका लागि र हालको गठबन्धनमा रहेर पनि सरकारमा सहभागी नभएका पार्टीहरुलाई फकाउन, स्वतन्त्रलाई हातमा लिन र माओवादीलाई गठबन्धन भत्किने गरी जोखिम मोल्ने अवस्था सिर्जना गर्नका लागि कांग्रेसले कस्तो उम्मेदवार अघि सार्छ भन्ने विषय पनि महत्वपूर्ण हुन सक्छ ।

यसर्थ संसदमा यतिबेला कुनै प्रष्ट अल्पमत भएको अवस्था र हालको गठबन्धन भत्किने कुनै पनि गुन्जायस नरहेको अवस्थामा कांग्रेसले पार्टीभित्रको विरोधलाईसमेत प्रवाह नगरी प्रचण्डलाई दिएको विश्वासको मतको लाभ यसरी प्राप्त गर्न खोजेको त होइन भन्ने प्रश्न उठेको छ । नत्र तेल दिँदा मुख विगार्ने तर रातिमा कोल चाट्ने त किन गर्नुपर्थ्यो होला र ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *