Main News

सन्दीप छुट्दा भयो जयजयकार ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष २९ गते २०:३१
सन्दीप छुट्दा भयो जयजयकार ! (भिडियो रिपोर्टसहित)

२९ पुस २०७९ काठमाडौं । नाबालिग बलात्कारको आरोपमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गरिएका क्रिकेटर सन्दीप लामिछाने धरौटीमा छुटेका छन् ।

उच्च अदालत पाटनको आदेश अनुसार लामिछाने थुनामुक्त भएका हुन् । अभियोग बाँकी नै रहे पनि सन्दीप रिहा हुँदा समर्थकले उनी निर्दोष रहेझैं गरी स्वागत गरेका थिए ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्धय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो ।

शुक्रबार दिउँसो करिब २ बजे लामिछानेलाई कारागारबाट काठमाडौं जिल्ला अदालत लगियो र त्यहाँ उनका दाजु मोहन लामिछानेले २० लाख रुपैयाँ धरौटी बुझाए । पहेँलो पहिरनमा अदालत परिसरबाट बाहिरिँदै गर्दा सन्दीप हर्षित देखिन्थे ।

उच्च अदालत पाटनले धरौटीसँगै विभिन्न शर्तमा थुनामुक्त गरेको हो । जसअनुसार सन्दीपको राहदानी रोक्का गर्ने, कुनै पनि माध्यमबाट अर्को पक्षका विषयमा टिकाटिप्पणी नगर्ने, आफूविरुद्धको मुद्दाका विषयमा धारणा व्यक्त नगर्ने, कुनै पनि माध्यमबाट विपक्षीको सम्पर्कमा आउने र मुद्दा प्रभावित गर्न नहुने, काठमाडौं उपत्यका बाहिर जानु परेमा जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई लिखित जानकारी दिने र उनको मोवाइल र सामाजिक सञ्जाल लगायतका गतिविधिमा प्रहरी प्रशासनको निगरानी रहने शर्त अदालतले राखेको छ । यसको उल्लंघन भएको खण्डमा भने पुन थुनामा राखी पुर्पक्ष गरिनेछ ।

सन्दीप धरौटीमा रिहा भएसँगै लामिछानेले पूर्ण रुपमा सफाइ पाउने र छिट्टै राष्ट्रिय क्रिकेट टोलीमा फर्किनेमा समर्थक आशावादी देखिन्छन् ।

बलात्कारको आरोप लागेसँगै उनलाई नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीबाट निलम्बन गरेको थियो । अब उनी निस्किएसँगै उनीमाथि लगाइएको निलम्बन फुकुवा गरेर राष्ट्रिय टोलीमा फर्काउन मिल्ने वा नमिल्ने विषयमा समेत छलफल हुनेछ ।

क्यानले पनि कानुन व्यवसायी र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)सँग यस विषयमा छलफल गर्ने तयारी गरेको छ । अन्तर्राष्ट्रिय सिरिजका लागि केन्या जानुअघिल्लो दिन भदौ ५ गते आफुमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध किशोरीले जाहेरी दिएकी थिइन् ।

असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आत्मसमर्पण गरेका सन्दीपलाई कात्तिक १८ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *