Main News

फेक अकाउन्ट बनाएर पैसा माग, हत्यासम्मका घटना (भिडियो रिपोर्टसहित)

२०७९ पुष २७ गते २०:३९
फेक अकाउन्ट बनाएर पैसा माग, हत्यासम्मका घटना (भिडियो रिपोर्टसहित)

२७ पुस २०७९ काठमाडौं । सामाजिक सञ्जाल प्रयोगकर्ता बढेसँगै साइबर अपराधमा पनि बृद्धि भएको छ । विभिन्न सामाजिक सञ्जाल दुरुपयोगबाट गतवर्ष मात्र तीन हजार नौ सयभन्दा बढी पीडित बनेको प्रहरीको तथ्यांक छ ।

समाजमा परिचित व्यक्तिका मात्र होइन, सामान्य नागरिकको पनि ‘फेक एकाउण्ट’ बनाएर आर्थिक तथा मानसिक दबाब दिने क्रम बढेको छ ।

प्रतिनिधिसभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोशिमा कार्की विजयी हुनुभयो । त्योसँगै उहाँको चर्चा चुलियो । सामाजिक सञ्जालमा बढ्दो चर्चाले उहाँलाई फाइदासँगै अप्ठ्यारोमा पनि पारेको छ । अहिले कार्कीका नाममा धेरै फेक एकाउण्ट र फ्यान पेजहरु बनेका छन् ।

कार्कीको तस्बीर र नाम राखेर बनाइएका त्यस्ता एकाउण्टबाट रकम संकलन भइरहेको जानकारी पाएपछि उहाँले मानसिक तनाव झेल्नुपरेको छ । पछि आफ्नो आधिकारिक फेसबुकबाट उहाँले स्पष्टीकरण दिनुभयो । सांसद कार्की जस्तै आफ्नो नामको फेक अकाउन्टबाट पीडित हुने अर्का व्यक्ति हुनुहुन्छ नागरिक दैनिक प्रधान सम्पादक गुणराज लुईटेल ।

पटक पटक लुईंटेलको नाममा फेक एकाउन्ट खोलिदिएर हैरान पारेका अज्ञात व्यक्तिले पछिल्लो समय उहाँको नाममा इन्स्टाग्राममा समेत फेक एकाउन्ट खोलिदिएपछि थप तनावमा पर्नुभयो । यसरी अरुको नामबाट फेक अकाउन्ट खोलेर म्यासेज गर्ने र कतिपयसँग रकम नै माग्ने गरेको अनुभव लुईंटेलको छ ।

कार्की र लुईटेल जस्तै आफ्ना नामको उस्तै अर्को अकाउन्ट खोलिदिने र प्रोफाइलमा तस्वीर पनि आफ्नै राखेर दुरुपयोग भएका घटना बढ्दै गएको प्रहरीको केन्द्रीय साइबर व्यूरोको भनाइ छ । अहिले दैनिक सरदर ३० देखि ३५ उजुरी तथा गुनासा ब्यूरोमा आउने गरेको प्रहरी बताउँछ । महिनामा एक हजार उजुरी र गुनासा आउने गरेपनि गम्भीर प्रकृतिका उजुरीलाई मात्रै अनुसन्धानपछि अदालतमा मुद्दा दर्ता गर्ने गरेको व्यूरोको भनाइ छ ।

इन्टरनेट प्रयोगकर्तासंगै सामाजिक सञ्जालमा हुने अपराधका घटनामा बृद्धि भएको ब्यूरोमा आउने उजुरीले देखाउँछ ।

सामाजिक सञ्जालको दुरुपयोगका घटनामा परेका उजुरी
आर्थिक वर्ष २०७५–७६– ३५७
आर्थिक वर्ष २०७६–७७– २३०१
आर्थिक वर्ष २०७७–७८– ३९०६
आर्थिक वर्ष २०७८–७९– ३७०७

प्रहरीको साइबर ब्युरोका अनुसार फेसबुक, भाइबर, इमो, ह्वाट्सएप, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालको दुरूपयोग दैनिक बढ्दो छ । यी बाहेक मोवाईल बैंकिङ र इन्टरनेट वैंकिङको प्रयोगसंगै इन्टरनेटका माध्यमबाट हुने वित्तिय अपराध पनि बढेको प्रहरीको अनुसन्धानले देखाएको छ । प्रहरी आफैंले सबै खाताहरुको अनुगमन गर्न असम्भव भएकाले व्यक्ति आफैं सचेत हुनुपर्ने विज्ञको सुझाव छ ।

सामाजिक सञ्जालकै माध्यमबाट हत्यादेखि मानवबेचविखनसम्मका जघन्य अपराध पनि बढेको प्रहरीको तथ्यांकछ । सामाजिक सञ्जाल प्रयोगकर्ताले सार्वजनिक सरोकारका बिषयमा भन्दा व्यक्तिगत जानकारी, अन्तरंग कुराकानीसम्म सामाजिक सञ्जालमा छरफस्ट पार्ने गर्दा उनीहरु अपराधिको निशानामा पर्ने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *