Main News

प्रचण्डलाई क-कसको समर्थन ? यस्तो छ विश्वासको मत लिने प्रक्रिया (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष २५ गते २१:०४
प्रचण्डलाई क-कसको समर्थन ? यस्तो छ विश्वासको मत लिने प्रक्रिया (भिडियो रिपोर्टसहित)

२५ पुस २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार विश्वासको मत लिंदै हुनुहुन्छ । कांग्रेससहितको गठबन्धनबाट निर्वाचित प्रचण्ड एमालेसँगको गठबन्धनको समर्थनमा प्रधानमन्त्री बन्नुभएको हो ।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने संसदीय प्रक्रिया कस्तो छ त ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार विश्वासको मत लिंदैगर्दा समर्थन गरेको दल नागरिक उन्मुक्ति पार्टी र तत्कालीन नेकपाकालका सहयात्री नेकपा एकीकृत समाजवादी पार्टी विपक्षी बेञ्चमा छन् । यी दुई दलले विश्वासको मत दिने नदिने निश्चित भइसकेको छैन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने विपक्षमा मत दिने निश्चित छ ।

यस्तोमा प्रधानमन्त्री प्रचण्डलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीका साथै स्वतन्त्र सांसद प्रभु साह र अमरेशकुमार सिंहको समर्थन रहने छ । यो संख्या १६५ हुन आउँछ । यदि उन्मुक्ति पार्टीले पक्षमा मत हाल्ने निर्णय गरे १६९ सांसदको समर्थन हुने छ । एकीकृत समाजवादी पनि सर्प्राइज समर्थनको तयारीमा छ । १३८ मत मात्र भएपनि प्रचण्ड सरकार बहुमतमा हुन्छ ।

सत्तारुढ दलका सांसद
एमाले– ७९
माओवादी केन्द्र– ३२
रास्वपा– २०
राप्रपा– १४
जसपा– १२
जनमत– ६
स्वतन्त्र –२
यी प्रचण्ड सरकारलाई समर्थन गर्ने ६ दल र २ स्वतन्त्र सांसदको कुल संख्या १६५ हुन आउँछ । तर, मंगलबारको संसदमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने निश्चित प्रक्रिया छ ।

यस्तो छ विश्वासको मत लिने प्रक्रिया
–विश्वासको मत लिनेबारे सूचना पढेर सुनाउने
प्रधानमन्त्रीले विश्वासको मत लिने सम्बन्धी सूचना प्रतिनिधि सभाको सोमबारको बैठकमा ज्येष्ठ सदस्यबाट पढेर सुनाइएको छ । अब मंगलबार सभामुखले प्रधानमन्त्रीलाई प्रस्ताव पेस गर्न समय दिनेछन् ।

विश्वासको मत लिनुअघि प्रधानमन्त्रीको सम्बोधन
प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुअघि संसदमा सांसदहरुलाई आफूलाई प्रधानमन्त्रीमा विश्वासको मत दिन प्रस्ताव पेस गर्दै आफूलाई विश्वासको मत किन दिने भन्नेबारेमा आफ्नो सम्बोधन गर्ने कार्यसूचि छ ।

प्रधानमन्त्रीको सम्बोधनपछि संसदमा छलफल
प्रधानमन्त्रीको सम्बोधनपछि संसदमा प्रधानमन्त्रीको विश्वासको मत लिने प्रस्तावबारे सांसदले बोल्न चाहेमा सभामुखले समय उपलब्ध गराउनुपर्ने छ । सभामुखले दिएको समयसीमाभित्र प्रधानमन्त्रीको विश्वासको मत लिने प्रस्तावमा सांसदले आफ्नो धारणा राख्नेछन् ।

सबै सांसदले विश्वासको मत दिने वा नदिने भन्नेबारेमा संसदमा बोल्न चाहे भने विश्वासको मत लिने प्रक्रिया लम्बिनेछ । तर, संसदमा रहेका ७ भन्दा बढी दलहरुले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने बताइसकेकाले त्यो अवस्था आउने देखिंदैन ।

प्रधानमन्त्रीको जवाफ
प्रतिनिधि सभामा आफूले राखेको विश्वासको मत दिने प्रस्तावमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुहुने छ । प्रधानमन्त्रीले सांसदहरुले गरेका प्रश्नको जवाफ दिइसकेपछि संसदमा मत विभाजनको प्रक्रिया सुरु हुनेछ ।

प्रस्ताव निर्णयार्थ प्रस्तुत
संसदमा मत विभाजन भइसकेपछि प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिन राखेको प्रस्ताव संसदमा निर्णयार्थ प्रस्तुत हुन्छ । त्यो प्रस्ताव भने मत विभाजनबाट हुन्छ ।

विश्वासको मत
निर्णयार्थ प्रस्तुत भइसकेपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रक्रिया सुरु हुन्छ । सदस्यहरुलाई प्रस्तावको पक्षमा र विपक्षमा दस्तखतसहितको मत दिनका लागि समय उपलब्ध गराइन्छ ।

मत दिइसकेपछि सच्याउने अवसर
प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेपछि पनि सांसदहरुलाई आफ्नो मत सच्याउन सभामुखले समय उपलब्ध गराउनेछन् । सभामुखले उपलब्ध गराएको समयसीमामा सांसदहरुले आफूले प्रधानमन्त्रीका लागि दिएको विश्वासको मत सच्याउन पाउनेछन् । यो प्रक्रिया सकिएपछि सभामुखले प्रधानमन्त्रीले पाएको विश्वासको मतको नतिजा सुनाउँछन् । विश्वासको मतको परिणाम सुनाइसकेपछि उक्त प्रस्ताव राष्ट्रपतिसमक्ष संसद सचिवालयले लेखेर पठाउँछ ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनेबारे प्रमुख प्रतिपक्षी दल कांग्रेसमा पनि दुई धार देखिएको छ । विश्वासको मत दिएर प्रतिपक्षमा बस्न नहुने पक्ष बलियो देखिदा कांग्रेस विपक्षमा हुने छ भने चार सिट जितेको लोकतान्त्रिक समाजवादी पार्टी पनि मौन देखिन्छ । यस्तोमा प्रधानमन्त्री प्रचण्डले सुविधाजनक बहुमतसहित विश्वासको मत पाउनु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *