६० सांसदको समर्थनसहित प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश
२४ पुस २०७९ विराटनगर । नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको छ ।
प्रदेशसभामा रहेका ९३ मध्ये कांग्रेस र एकीकृत समाजवादी बाहेक ६० जना सांसदको हस्ताक्षरसहित एमाले संसदीय दलका नेता कार्कीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो ।
प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना प्रदेशसभा सदस्यले कार्कीलाई समर्थन गरेका छन् । प्रदेशसभामा कुनै पनि दलको बहुमत नपुगेपछि २ वा २ भन्दा बढी दलको समर्थनमा सरकार बनाउने समय सीमा आजसम्मका लागि थियो ।
प्रदेश १ मा बहुमतको सरकार गठन गर्न ४७ सांसद आवश्यक पर्छ । अब प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्रीको रुपमा नियुक्त गर्नुहुनेछ । मुख्यमन्त्रीको सपथ भने भोलि मात्र हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया