Main News

दादुराबाट एक बालकको मृत्यु, ८ वटा वडामा महामारीको जोखिम (भिडियो रिपोर्टसहित)

२०७९ पुष २३ गते १७:१८
दादुराबाट एक बालकको मृत्यु, ८ वटा वडामा महामारीको जोखिम (भिडियो रिपोर्टसहित)

२३ पुस २०७९ बाँके । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले नेपालमा बालबालिकालाई लगाइने नियमित खोप पछिल्लो ५ वर्षमा घटेको देखाएको थियो ।

२३ महिनासम्मका बालबालिकामा दादुरा–रुबेला जस्ता लगाउनैपर्ने खोप विगत पाँच वर्षमा ४ प्रतिशत बालबालिकाले नलगाएको तथ्यांक नै सार्वजनिक हुँदा पनि सरकारको ध्यान पुगेन । जसकारण बाँकेमा एक बालकको मृत्यु भएको छ भने ८ वटा वडामा दादुरा महामारी फैलिएको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका ८ वटा वडामा दादुराको प्रकोप फैलिएको छ भने ३० जनामा संक्रमण देखिएको छ । बालबालिकामा ज्वरो आउने, जीउ दुख्ने, रुघाखोकी लाग्ने तथा मुखभित्र निलो र सेतो रङ्गको दाग देखिएको छ । संक्रमण देखिएका बालबालिकाहरूको प्रारम्भिक रूपमा अध्ययन गर्दा संक्रमितमध्ये धेरै बालबालिकाले खोप नलगाएको पाइएको छ ।

स्वास्थ्य संस्थाले ९ महिना र १५ महिनाको उमेरमा दुईपटक बालबालिकालाई निःशुल्क दादुराविरुद्ध खोप दिँदै आएका छन् । यसैअनुसार सरकारले सन् २०२३ सम्म नेपालबाट दादुरा रोग निवारण गर्ने लक्ष्य समेत लिएको थियो । तर, जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले नियमित खोप पछिल्लो ५ वर्षमा घटेको सर्वेक्षण गर्दा पनि त्यसतर्फ कसैको ध्यान नजाँदा खोप हुँदा हुँदै पनि दादुराका कारण एक जना बालकले ज्यान गुमाउनु परेको छ ।

प्रकोप नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरूले सक्रियता बढाएका छन् । दादुरा नियन्त्रणका लागि उपमहानगर, जिल्ला जनस्वास्थ्य र भेरी अस्पतालका टोली परिचालन गरिएको छ । दादुरा संक्रमित बालबालिकाको घरमै उपचार भइरहेको छ ।

पहिलो दिन नेपालगन्जका ४ वटा खोप केन्द्रमा ८ सय ७९ जना बालबालिकालाई दादुराको खोप र भिटामिन एको क्याप्सुल खुवाइएको छ । दादुराको खोप र भिटामिन एको क्याप्सुल खुवाउने अभियान लगातार ३ दिनसम्म सञ्चालन गर्ने उपमहानगरको तयारी छ ।

बाँकेलाई गत वर्ष मात्रै पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । घोषणा गरिएको एक वर्ष नहुँदै बाँकेमा दादुरा संक्रमण फैलिएको हो । खोप लगाएमा केही नहुने रोगबाटै बालकको मृत्यु हुनुको दोषी को हो ? के गैरजिम्मेवार राज्यका कारण एक बालकले अनाहकमा ज्यान गुमाउनुपर्ने हो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *