राजनीति

गण्डकीमा सरकार गठन आह्वानप्रति दलहरु किन असन्तुष्ट ? (भिडियो रिपोर्टसहित)

२०७९ पुष २२ गते १८:२१
गण्डकीमा सरकार गठन आह्वानप्रति दलहरु किन असन्तुष्ट ? (भिडियो रिपोर्टसहित)

२२ पुस २०७९ कास्की । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा संघीय सरकार गठन भएको छ । ७ दल र केही स्वतन्त्र सांसद गरी १ सय ६९ जना सांसदको समर्थन छ ।

पुस २६ गते विश्वासको मत लिने तयारी भएको छ । तर, त्यसअघि नै पुस २५ गतेका लागि गण्डकी प्रदेशमा नयाँ सरकारका लागि आह्वान गरिएको छ । विश्वासको मत लिँदा तलमाथि हुने शंका सत्ताबाहिरका दललाई भइरहँदा छोटो समयमा सरकार गठनको आह्वान गर्नुमा दलहरू असन्तुष्ट छन् ।

नेकपा एमालेले नेतृत्व गरिरहेको सात दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री छन् । तर, विश्वासको मत अघि नै राजनीतिमा परिवर्तन हुन सक्ने आकलन गरिँदैछ । राप्रपा लगायतका दलले आफ्ना माग प्रधानमन्त्रीलाई बुझाएका छन् ।

माग पूरा नभए सरकारलाई समर्थन गर्ने÷नगर्ने टुंगो छैन । केन्द्रमा राजनीति सामान्य हलचल हुने बित्तिकै गण्डकीको सत्ता समीकरणमा फेरबदल आउँछ । त्यसैले गण्डकीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमालाई लिएर गण्डकीका दलहरू असन्तुष्ट छन् ।

केन्द्रकै गठबन्धनलाई आधार मान्दा गण्डकीमा एमाले, माओवादी र राप्रपाको गठजोडबाट सरकार बन्नेछ । एमालेको २२, माओवादीको ८ र राप्रपाको २ सिट छ । एमालेका केन्द्रीय सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीलाई दलको नेतामा सर्वसम्मत चयन गरेर मुख्यमन्त्रीको दावेदार मानिएको छ । तर, केन्द्रको समस्या हल नभइरहँदा अहिले एमाले वा अरु कसैको नेतृत्वमा सरकार बन्दैछ भन्ने टुंगो छैन ।

केन्द्रमा सहज परिस्थति नभएसम्म प्रदेशलाई सहज हुने अनुमान लगाउन सकिँदैन । केन्द्रले टुंगो लगाइदिए सजिलो हुने नेताहरूको अपेक्षा छ । माओवादी र एमालेबीच मुख्यमन्त्री एमालेलाई समझदारी बनेको भनेपनि प्रदेशका नेता त्यस्तो निर्देशन नआएको बताउँदै आएका छन् ।

केन्द्रबाट प्याकेजमा सहमति भएपछि प्रदेशको टुंगो लाग्ने विश्वासमा रहेका दलहरूलाई प्रदेश प्रमुखले सरकार गठनका लागि गरेको आह्वानमा चित्त बुझेको छैन । तर, एमाले भने सरकार आफ्नो नेतृत्वमा बन्नेमा ढुक्क देखिन्छ ।

प्रदेशमा माओवादीलाई सभामुख दिएर मुख्यमन्त्री आफूले लिने मनस्थितिमा छन् । अहिले दलबीच छलफल भइरहेको र प्रदेश प्रमुखले दिएको समय सिमा भित्र दावी पेश गरेरै छाड्ने उनीहरूको तर्क छ ।

केन्द्रका कारण अहिलेसम्म सरकार गठनको गाँठो फुकेको छैन । केन्द्रकै भर पर्दा दलहरू अनिर्णयको बन्दी बनेका छन् । त्यसमाथि प्रदेश प्रमुखबाट आह्वान भएको पत्रले समेत दलहरूलाई छिटो भागवण्डा टुंग्याउन दबाब छ । अब केन्द्रको समीकरणमा निर्भर हुने हुँदा २५ गते अघिसम्म कसको नेतृत्वमा सरकार बन्छ भनेर अड्कल गर्न पनि मुस्किल छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्