राजनीति

बागमती सरकारको नेतृत्वमा तीन दलले दाबी, निर्णायक भूमिकामा राप्रपा (भिडियो रिपोर्टसहित)

२०७९ पुष १९ गते १८:०१
बागमती सरकारको नेतृत्वमा तीन दलले दाबी, निर्णायक भूमिकामा राप्रपा (भिडियो रिपोर्टसहित)

१९ पुस २०७९ हेटौंडा । बागमती प्रदेश सरकारको नेतृत्वमा सत्ता गठबन्धनका मुख्य तीन दलले दावी गरेका छन् । प्रदेश सरकारको नेतृत्वमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपासमेतले दावी गरेका हुन ।

बागमती प्रदेशमा सरकार गठनमा एमाले–माओवादीको मतले मात्रै बहुमत पुग्दैन । त्यहाँ चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी निर्णायक भूमिकामा देखिएको छ ।

केन्द्रमा सत्ता समीकरण फेरबदल भएसँगै बागमती प्रदेशमा पनि सत्ता समीकरणले नयाँ मोड लिएको छ । ११० सदस्यीय बागमती प्रदेशसभामा सरकार बनाउन कम्तिमा ५६ सांसद आवश्यक छ ।

एमाले, माओवादी केन्द्र र राप्रपा मात्र मिल्दा पनि बागमतीमा सहजै सरकार बन्न सक्ने स्थिति छ । एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् । ठूलो दल भएका आधारमा एमालेले मुख्यमन्त्रीको दाबी गरेको छ ।

एमाले र माओवादी मात्र मिलेर सरकार गठनका लागि बहुमत पुग्दैन । ३७ सिट जितेको कांग्रेस प्रतिपक्षमा रहने भए पछि सरकार निर्माणको तालाचाबी चौथो ठूलो दल राप्रपाको हातमा छ । प्रदेश संरचना खारेजीको एजेन्डा बोकेको राप्रपाले बागमतीको मुख्यमन्त्रीमा दाबी गरेको छ ।

नेकपा माओवादी केन्द्रको पनि मुख्यमन्त्रीमा दावी छ । माओवादी केन्द्रको बागमती प्रदेशको संसदीय दलका नेता शालिकराम जम्मकट्टेल मुख्यमन्त्री हुने योजनामा हुनुहुन्छ ।

प्रदेशमा आ–आफ्नै दाबी पेस गरे पनि प्रदेशको रिमोट केन्द्रमा छ । त्यसैले मुख्यमन्त्री, सभामुख लगायतका भगवण्डाका लागि केन्द्रको निर्णय र आदेश पर्खिनुको शिवाय प्रदेशसँग अरु विकल्प छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्