Main News

शिक्षण अस्पतालको यस्तो अव्यवहारिक शौचालय (भिडियो रिपोर्टसहित)

२०७९ पुष १९ गते १४:४५
शिक्षण अस्पतालको यस्तो अव्यवहारिक शौचालय (भिडियो रिपोर्टसहित)

१९ पुस २०७९ काठमाडौं । त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको सुरेश वाग्ले मेमोरियल क्यान्सर सेन्टरमा रहेको शौचालय अनौठो बनाइएको छ । पुरुषका लागि बनाइएको युरिनल र त्यसैबाट अर्कोपट्टि महिलाका लागि कमोड र प्यान बनाइएको छ । यस्तो लापरवाही किन ?

सार्वजनिक शौचालय कस्तो हुनुपर्छ ? कम्तिमा महिला तथा पुरुषका लागि अलग–अलग हुनुपर्छ । यदि तपाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुग्नुभयो भने आश्चार्य चकित हुनु होला । यो हेर्नुहोस् त– झट्ट हेर्दा यो शौचालय पुरुषले प्रयोग गर्नेगरी बनाइएको हो तर यो बाटो भएर मात्र महिलाले प्रयोग गर्ने शौचालयमा प्रवेश गर्न पाउँछन् ।

तपाईलाई अनौठो लागेन ? पुरुषले शौच गर्दै–गर्दा महिला कसरी प्रवेश गर्न सक्छन् वा महिला बाहिरिदै गर्दा पुरुषले के गर्लान ? नेपालकै ठूलो सरकारी अस्पालमध्येको एक शिक्षण अस्पताल महाराजगञ्ज परिसरमै रहेको सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पतालको कथा हो, यो । आम नागरिकका लागि सरकारी सहयोगमा सञ्चालित यो अस्पतालको शौचालयले सिंगो अस्पतालको वर्णन गर्छ ।

हामी आम नागरिकको गुनासो सुनेपछि यर्थाथ बुझ्न अस्पताल पुग्यो । साँच्चै अस्पतालमा रहेको ७० करोड रुपैयाँ लागतमा बनाइएको भवनमा रहेको शौचालयको हालत यस्तो देखियो । त्यति मात्र होइन, यो भवनले त उत्कृष्टको पुरस्कार नै पाएको हो । अस्पतालको ओपीडीमा आउनेले प्रयोग गर्ने शौचालायमा पुरुष र महिलाले एउटै बाटोबाट प्रवेश गर्नुपर्छ ।

र सेवाग्राही पनि यो शौचालयबाट दिक्क बनेका छन् । हामीले केहीलाई सोध्यौं– यो शौचालय प्रयोग गर्न कत्तिको गाह्रो छ ?

हामी मात्र होइन, अस्पताल प्रशासन पनि कमजोरी भएको स्वीकार गर्छ । सुरुमा जवाफदेहिताबाट भाग्न खोजेको प्रशासनलाई यस्तो अव्यवहारिक शौचालय किन बनाउनुभयो भन्दै सोध्यौं । अस्पतालका प्रवक्ता रामविक्रम अधिकारी आफैं कमजोरी स्वीकार गर्नुहुन्छ ।

यो कमजोरी तत्काल सच्याउने अस्पताल प्रशासनको आश्वासन छ । के होला त सुधार ? त्रिवि शिक्षण अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाको गैर जिम्मेवार जवाफले भने यहाँको प्रशासन सुध्रिने आशै गर्न सकिदैन । कतिसम्म लापरवाही भएको छ, काफ्लेको यो गैह्रजिम्मेवार जवाफले आफैं पुष्टि गर्छ ।

अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा यो हदसम्मको गैह्रजिम्मेवारले धेरै प्रश्न उठाएको छ । पुरुष र महिलाका लागि अलग–अलग हुनुपर्ने शौचालय एउटै जस्तो देखिने किन बनाइयो ? यसमा निर्माण कम्पनी मात्र होइन, निर्माण सम्पन्न भएपछि जिम्मा लिने अस्पताल प्रशासन सबैभन्दा बढी दोषी हो । अब कहिलेसम्म सुधार होला ? त्यो हेर्न बाँकी नै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *