Main News

गृहमन्त्री रवि लामिछानेका सकारात्मक कदम, होला त कार्यान्वयन ? (भिडियो रिपोर्टसहित)

२०७९ पुष १७ गते २१:२५
गृहमन्त्री रवि लामिछानेका सकारात्मक कदम, होला त कार्यान्वयन ? (भिडियो रिपोर्टसहित)

१७ पुस २०७९ काठमाडौं । रवि लामिछानेले उपप्रधान तथा गृह मन्त्रालयको जिम्मेवारी लिएसँगै केही सुधारका संकेत देखा परेका छन् । नियमविपरीत व्यक्तिगत सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्नेदेखि सुरक्षाकर्मीहरुले आफूखुसी गर्ने कूटनीतिक तथा राजनीतिक भेटघाटमा कडाई गर्न खोज्नुलाई सकारात्मक रुपमा हेर्न सकिन्छ ।

सुरक्षा अधिकारीहरुले विभिन्न दलका नेतालाई भेटेर आफ्नो स्वार्थ अनुकुल सरुवा माग्ने र बढुवामा पनि नेताकै दैलो चहार्ने गरेको चर्चा सुरक्षा निकायमै हुने गरेको छ । भर्ना भएदेखि नै नेताको शरणमा पुग्ने सुरक्षाकर्मीहरु सेवा निवृत्त नभइन्जेलसम्म नै कायम रहन्छ । के सिपाई के अधिकृत, सबैले भ्याएसम्म हरेक सरुवा बढुवामा नेताको दैलो चाहार्दै आएका छन् ।

सुरक्षाकर्मीको यो गलत अभ्यासलाई हरेक गृहमन्त्रीले रोक्न नखोजेका पनि होइनन् । नयाँ गृहमन्त्री आउनासाथै नेताको शरणमा नपर्न उर्दी जारी गरिन्छ । तर जब गृहमन्त्रीले बुझ्दै जान्छन् तब उनै गृहमन्त्रीले सुरक्षाकर्मी आफ्नो शरणमा परुन भन्ने चाहान्छन् ।

अहिले पनि नयाँ गृहमन्त्री बनेर आउनु भएका रवि लामिछानेले संस्थागत भन्दा व्यक्तिगत रुपमा चल्न खोज्ने सुरक्षाकर्मीलाई कस्न खोज्नु भएको छ । उहाँले कुटनीतिक नियोग र राजनीतिक नेतृत्वलाई भेटघाट गर्दा अनिवार्य स्वीकृत लिन निर्देशन दिनुभएको छ । यसले सुरक्षा निकायमा सुधार हुने र चेन अफ कमाण्ड कायम रहने अपेक्षा गरिएको छ ।

तर गृहमन्त्रीले चाहँदैमा मात्रै सुधार हुन सक्ने अवस्था छैन । किनकी प्रधानमन्त्री पुष्पकमल दाहाल फरक पार्टीको हुनुहुन्छ भने सरकारको अप्रत्यक्ष नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरिरहनु भएको छ ।

त्यस्तै गृहमन्त्री लामिछानेले सुधार गर्न खोजेको अर्को विषय हो नियमविपरित व्यक्तिगत सुरक्षा र काममा खटाइएका सुरक्षाकर्मीलाई फिर्ता बोलाउने । जस अन्तर्गत यसरी दुरुपयोग भएका केही सुरक्षाकर्मी फिर्तासमेत भइसकेका छन् ।

(सिंहदरवारमा सर्वसाधरणको सहँज पहुँच नभएको र अनेक झण्झट रहेको बिषयमा हिमालय टेलिभिजनले केही दिनअघि समाचार प्रशारण गरेको थियो ।

यो विषयमा पनि गृहमन्त्री लामिछाने र प्रधानमन्त्री दाहालले छलफल गरेर सहज प्रवेशको वातावरण गराउन सहमत हुनु भएको छ ।

अहिले राहादानी र राष्ट्रिय परिचय पत्र लिनका लागि घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता छ । यो समस्या समाधानका लागि कार्यदल नै गठन गरिएको छ । कार्यदलले निकास निकाल्ने अपेक्षा गरिएको छ ।

गृ मन्त्रालयको नेतृत्व सम्हालेलगत्तै लामिछानेले सुरु गरेका यी कामहरु अहिले पहिलो पाइलामा छन् । आफैबाट वा सत्ता साझेदारहरुबाट अवरोध नभए यी काम पूरा पनि हुनेछन् । यी काम गर्न र परिणाम दिन लामिछाने स्वयम् र वर्तमान सरकार कसरी लागिपर्छ त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *