Main News

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : १६ अर्ब बढी चिनियाँ ऋण | भैरहवाकै नियति व्यहोर्ने डर (भिडियो रिपोर्टसहित)

२०७९ पुष १७ गते २१:१९
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : १६ अर्ब बढी चिनियाँ ऋण | भैरहवाकै नियति व्यहोर्ने डर (भिडियो रिपोर्टसहित)

१७ पुस २०७९ कास्की । पश्चिम नेपालको विकासको इन्जिनका रुपमा व्याख्या गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै एकातिर खुसीयाली त छाएको छ, तर अर्कोतर्फ भने विमानस्थल अपेक्षित रुपमा चल्न सकेन भने ऋण कसरी तिर्ने भन्ने चिन्ता पनि थपिएको छ ।

यो विमानस्थल निर्माण गर्दा लागेको २१ अर्ब ४७ करोडमध्ये ७५ प्रतिशत रकम ऋण हो । वार्षिक २ प्रतिशत ब्याजसहित सावाँ पनि तिर्ने रकम कसरी जुटाउने ?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा २१ अर्ब ४७ करोड रुपैयाँ खर्च भएको छ । विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकबाट सहुलियतपूर्ण ऋण लिइएको हो । कुल ऋणको २५ प्रतिशत अनुदान हो भने ७५ प्रतिशत रकम चाँहि वार्षिक २ प्रतिशत ब्याजसहित भुक्तानी गर्नुपर्छ ।

अर्थात् नेपाल सरकारले १६ अर्ब १० करोड २५ लाख रुपैयाँको साँवाब्याज एक्जिम बै‌कलाई बुझाउनु पर्छ । वर्षान्तर बढ्दै जाँदा तिर्नुपर्ने रकम पनि वृद्धि हुन्छ । सोही कारण यो विमानस्थलका कारण जसरी खुसी बढेको छ, चिन्ता पनि त्यही अनुपातमा बढेको छ ।

पोखरा विमानस्थल सञ्चालनमा आएसँगै पोखरेलीको ५० वर्ष पुरानो सपना पूरा भएको भनिएको छ । अब गण्डकी क्षेत्रबाट विदेश आउने जानेले काठमाडौं धाइरहने बाध्यता हटेको पनि ठानिएको छ । पोखरा आफैमा पर्यटकीय नगरी भएकाले यो विमानस्थल चलायमान हुने र व्ययभार भुक्तानी गर्न सकस नहुने पनि सरकारी अपेक्षा छ । तर, भौगोलिक समस्याले यो विमानस्थलमा ठूला विमान उडान र अवतरण हुन सक्ने छैनन् । यसले गर्दा सरकारी अनुमानमा धक्का पुग्न सक्छ ।

राष्ट्रिय गौरवको आयोजना समेत रहेको यो विमानस्थलको अवधारणा २०२६ सालमा नै सुरुभएको थियो । त्यसको आठ वर्षपछि २०३२ चैत २ गते ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरेको थियो । ३० प्रतिशत जग्गा अपुग भएपछि ६ सय २९ रोपनी जग्गा थप अधिग्रहण गरिएको थियो । इपिसी मोडलमा २०७१ साल वैशाख १ गते सिलन्यास गरिएको यो विमानस्थल २०७९ पुस १७ गते अर्थात् अंग्रेजी नयाँ वर्ष २०२३ मा उद्घाटन गरिएको छ ।

गत जेठ २ गते सञ्चालनमा आएको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल अपेक्षित रुपमा चल्न सकेको छैन । अन्तर्राष्ट्रिय उडान सुरु गरेका जजिरा एयर र हिमालयन एयरलाइन्सले यात्रु अभावको कारण देखाउँदै हालै आफ्नो उडान ठप्प पारेका छन् । अन्तर्राष्ट्रिय उडान नभएपछि अहिले घरेलु उडानले विमानस्थलको खर्च धान्नै नसकिने अवस्थामा छ । यो हबिगत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पनि भोग्नु पर्‍यो भने, चिनियाँ ऋण सरकारका लागि टाउको दुखाइको विषय बन्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *