Main News

नयाँ सत्ता समीकरणसँगै भू–राजनीतिक चलखेल सुरु, चीन र अमेरिकाको यस्तो खेल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष १६ गते २१:०४
नयाँ सत्ता समीकरणसँगै भू–राजनीतिक चलखेल सुरु, चीन र अमेरिकाको यस्तो खेल (भिडियो रिपोर्टसहित)

१६ पुस २०७९ काठमाडौं । आम निर्वाचनपछि फेरिएको नेपाली राजनैतिक समीकरणमा भू–राजनीतिक प्रभावबारे चर्चा चुलिएको छ । महाशक्ति राष्ट्रहरु चीन र अमेरिकाको चासो ह्वात्तै बढेको छ ।

पछिल्लो घटनाक्रमले चीन र अमेरिका नेपाली राजनीतिमा ‘माइक्रो म्यानेजमेन्ट’तहमै उत्रिएको जानकार बताउँछन् । अमेरिकी पत्रिका द वासिङटन पोष्टले वर्तमान सत्ता गठबन्धनलाई ‘प्रो–चाइना’को संज्ञा दिइरहँदा चिनियाँ पत्रिका ग्लोबल टाइम्सले अमेरिकाले नेपालमा सैन्य रणनीति लाद्ने प्रयास गरेको आरोप लगाएको छ । यी दुई पत्रिकाले त्यहाँको सत्ताको कतै न कतै प्रतिनिधित्व गर्छन ।

गत डिसेम्बर २६ अर्थात नेपालमा नयाँ सरकार गठन भएको भोलिपल्ट पुस ११ गते अमेरिकी पत्रिका द वासिङटन पोष्टले फेरिएको नेपाली राजनीतिबारे टिप्पणी छाप्यो । अनलाइन संस्करणमा छापिएको टिप्पणीमा प्रधानमन्त्रीबाट विदाइ भएका कांग्रेस सभापति शेरबहादुर देउवालाई ‘प्रो–इण्डिया’ र ‘प्रो–अमेरिका’की रहेको उल्लेख छ । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘प्रो–चाइना’को संज्ञा दियो । अर्थात अमेरिकी पत्रिकाको नजरमा वर्तमान सत्ता गठबन्धन प्रो–चाइना हो ।

मंसिर ४ गते सम्पन्न आमनिर्वाचनपछि सत्ताको जोडघटाउमा जुटेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड किङ मेकरका रुपमा रहेका थिए । उनै प्रचण्ड कांग्रेस नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री नपाउने भएपछि आफ्नै प्रतिद्वन्द्वी ओलीको ‘कमरेड’ अर्थात साथी बने । १६ वर्षमा १३ प्रधानमन्त्री पाएको नेपालमा केही नेताले नाटकीयरुपमा आर्थिक प्रगति गर्ने प्रस्ताव अघि सार्ने गरेका छन्, अबको रणनीति के होला रु वासिङ्टन पोष्टले भू–राजनीतिक प्रश्न गरेको छ ।

अब नेपालको रणनीति चीनसँग नजिकिने होला वा भारतसँग कि अमेरिका सँग ? दुई कम्युनिष्ट पार्टी एकै ठाउँमा उभिंदा चीन उत्साहित बनेको वासिङटन डिसीको बुझाइ छ । तर, खुल्ला सीमा र भारतसँगको निर्भरता रहेकाले एमाले–माओवादी केन्द्रसँगै जुटेका फरक विचार बोकेका दलहरु पनि नयाँ समीकरणमा छन् । त्यसैले पनि अहिलेकै अवस्थामा अमेरिका वा भारतभन्दा चीनको प्रभाव बढेको पश्चिमा विश्लेषण छ ।

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी नेपालमा लागु गर्न देउवा सरकार जति उत्साहित थियो त्योभन्दा बढी माओवादी केन्द्र आलोचनामै केन्द्रित बनेको वासिङटन डिसीको बुझाइछ । यहाँ ह्वाइट हाउसले वेजिइङको एमसीसी पेन्डोरा बक्स हो भनने टिप्पणीलाई पुनः समातेको छ । अबको दिनमा नेपालमा अमेरिकी चाहना कतिको पुरा हुनसक्छ भन्ने शंका ह्वाइट हाउससँग रहेको वासिङटन पोष्टको टिप्पणीले बुझ्न त्यति कठिन हुँदैन । २८ डिसेम्बर अर्थात पुस १३ गते वेइजिङबाट प्रकाशित ग्लोबल टाइम्सको अनलाइन संस्करणले त नेपालमा अमेरिकी चाहना पूरा हुन नसकेको टिप्पणी गरेको छ ।

अघिल्लो वर्ष आफू अनुकुलको सरकार बनाउन सकेको अमेरिकाले एमसीसी पास मात्र गराएन स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी नेपालमा लागु गरेर दक्षिण एसियामा नियन्त्रण गर्न चाहेको ग्लोबल टाइम्सको टिप्पणीमा छ । उसले त दक्षिण पूर्वी एसिया, मध्य एसिया, हिन्द महासागर, पर्सियन खाडीमा पनि अमेरिकी सैन्य कब्जाको रणनीति भएकोसम्म भन्न भ्याएको छ । अमेरिकी हिन्द–प्रशान्त रणनीतिमा नेपाललाई कस्ने अमेरिकी रणनीति नेपाली राजनीतिक दलहरुको विरोधले पूरा हुन नसकेको वेइजिङको बुझाइछ ।

अमेरिकाले कांग्रेस–माओवादी केन्द्रको गठबन्धनलाई बधाई दिएर आगामी सरकार बनाउन चाहेको तर अहिलेको नयाँ समीकरणले ह्वाइट हाउस स्तव्ध बनेको ग्लोबल टाइम्सको विश्लेषण छ । अझ वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी नेपालमा चर्चित र आफू अनुकुल रहेको घुमाउरो चिनियाँ व्याख्या छ । तर, नेपालमा रहेका अमेरिका निकट समूहले नयाँ राष्ट्रपति बनाउन पश्चिमा अनुकुलको पहल नै गरेको ग्लोबल टाइम्सले आरोप लगाएको छ ।

कतै न कतै वर्तमान सत्ता समीकरण आफू अनुकुल रहेको वेइजिङको बुझाइलाई बलियो बनाउन वर्तमान कम्युनिष्ट गठबन्धनले विगतको ठक्कर बुझेर एकतासम्म पुग्नुपर्ने ग्लोबल टाइम्सले सुझावसमेत दिएको छ । यसरी दुई शक्ति राष्ट्रको नेपाली राजनीतिमा खुलेआम वर्चश्व कायम राख्ने नीति लिएको प्रष्ट हुन्छ । भूराजनीतिको प्रत्यक्ष प्रभावलाई ‘व्यालेन्स’मा राख्न नसकेको नेपालले आगामी दिनमा संकटको सामना गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *