Main News

आँसुको आहालमा निराकारको परिवार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष १६ गते २०:४९
आँसुको आहालमा निराकारको परिवार (भिडियो रिपोर्टसहित)

१६ पुस २०७९ काठमाडौं । थाइल्याण्डको सिमानामा रहेको कम्बोडियाको पोइपेट सहरस्थित ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परी १९ जनाको मृत्यु भयो । ७० जना घाइते भए ।

यही घटनामा झापाको बिर्तामोड घर भएका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भयो । निराकारको मृत्युले अहिले परिवार शोकमा छ । परिवारसँग निराकरले अन्तिम घडीमा गरेको कुराकानी र छोरालाई दिएको सन्देश अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । परिवार पनि अन्तिम घडीसम्म परिवारसँग उनले गरको कुराकानीलाई सम्झिएर आँशु बगाइरहेका छन् ।

बुधबार पोइपेट सहरमा भएको आगलागीबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार बनाइरहँदा नेपालको एउटा परिवार भने असह्य पीडामा थियो । किनकी उक्त घटनामा झापाको बिर्तामोड घर भएका ४० वर्षीय निराकार पाण्डेले ज्यान गुमाएका थिए । आफू बाँच्दिन भन्ने थाहा पाएपछि उनले परिवारसँग गरेको कुराकानीले सामाजिक सञ्जाल प्रयोगकर्ताको मथिंगल हल्लाएको छ ।

११ तलामाथि रहेको कोठाको झ्यालमा बसेर परिवारसँग उनले गरेको भिडियो कल र सन्तानलाई इमानको पाठ पढाएको भिडियोलाई धेरैले हृदयविदारक भएको प्रतिक्रिया दिइरहेका छन् । घटनाको दुई दिनपछि हिमालय टेलिभिजन निराकारको घर पुग्दा सिंगो परिवार आँशुको आहालमा थियो । बाहिर मानिस जम्मा भएर बसेका थिए । श्रीमती कोठामा अर्धचेत थिइन् । निराकारका भाइ अन्तिम पटक दाइसँग वार्तालाप गर्न नपाए पनि उनको हिम्मतको प्रशंसा गरिरहनुभएको थियो ।

हुन पनि सेतोपाटीले सार्वजनिक गरेको भिडियोमा आगलागी भइरहँदा पनि परिवारसँग अन्तिम घडीसम्म निराकरको संवादले उनको हिम्मतलाई प्रस्तुत गरेको छ । सन्तानलाई इमानको पाठ दिएर बिदा भइरहेका ती हरेक वाक्यले निराकारप्रतिको समवेदना बढीरहेको छ ।

आफू बसेको होटेलमा आगलागी भइरहँदा उनी डेढ घण्टा परिवारसँग संवादमा थिए । तर, त्यति लामो समयसम्म पनि उनलाई उद्दार गर्न कुनै निकाय पुगेन । कोठाबाट धुँवाको मुस्लो आइरहँदा, झ्यालमा बसेर संवाद गरिरहँदा पनि उद्दारको पर्खाइमा रहेका उनको उद्दार हुन सकेन । हरहिसाबले विकसित भनिएको सहरमा त आगलागीमा परी धेरैको ज्यान गयो भने नेपालमा नेपालमा यस्तै आगलागी हुँदा हुने क्षति कस्तो होला ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घटनाप्रति दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गर्नुभयो । उनको शव नेपाल ल्याउनेतर्फ राज्यले पहल गरोस् । नेपालमा पनि यस्ता घटना हुँदा उद्दारमा बढी समय खर्चनुपर्ने रहेछ भन्ने राम्रो सबक थाइल्याण्डको घटनाले दिएको छ । सरकारले यही दृष्टान्त प्रस्तुत गरेर भए पनि आफ्नो संयन्त्रलाई बलियो बनाओस्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *