Main News

अध्यक्ष नेपालद्वारा पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउन प्रस्ताव

२०७९ पुष १६ गते २०:३५
अध्यक्ष नेपालद्वारा पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउन प्रस्ताव

१६ पुस २०७९ काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी समितिको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा केही नेताले छलफलमा धारणा राख्न बाँकी रहेकाले बैठक स्थगित गरिएको हो ।

आजको बैठकमा १८ जना नेताले आफ्नो धारणा राख्नुभएको थियो । वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा सङ्गठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । आजको बैठकमा नेकपा (एमाले)सँग एकता गर्ने विषयमा नेताहरुबीच मत भिन्नता देखिएको छ ।

बैठकको प्रारम्भमा अध्यक्ष नेपालले पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिकाका बारे धारणा राख्नुभएको थियो । उहाँले पार्टीको शक्ति सुदृढीकरणका लागि सशक्त एजेण्डाका साथ देशव्यापी अभियान अगााडि बढाउन नेताहरुलाई निर्देशन दिनुभयो । अध्यक्ष नेपालले पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउने विषयमा गम्भीरतापूर्वक विचार राख्न नेतालाई आग्रह गर्नुभयो ।

पार्टीका सम्मानित नेता झलनाथ खनालले क्रान्तिकारी पार्टी निर्माणका लागि आवश्यक पर्ने वैचारिक र राजनीतिक हतियारलाई चुस्त, दुरुस्त पार्नुपर्नेमा जोड दिनुभयो । पार्टी सञ्चालनमा समग्र विषयको वृहत छलफल गर्नुपर्ने उहाँको भनाइ थियो ।

महासचिव डा बेदुराम भुसालले सङ्गठन निर्माण र पुनःताजगीका लागि प्रस्ताव पेस गर्नुभयो । पार्टीले पछिल्लो समय जनवर्गीय सङ्गठनका साथै प्रवासमा रहेका पार्टी निकट सङ्गठन, शुभेच्छुकसँग सुझाव लिएको छ ।

केहीले निर्वाचनमा जनताले प्रदान गरेको अभिमतबाट आफ्नो पार्टी प्रतिपक्षमा बसेर ढिलासुस्ती, भ्रष्टाचार, सामाजिक विकृतिका विरुद्ध क्रियाशील हुनुपर्ने, निर्वाचनमा पार्र्टीले उल्लेख्यता सफलता कायम गर्ने अपेक्षा गरिएकामा कम उपलब्धी हासिल भएकाले केहीले सरकारमा सहभागी भएर पनि जनताको सेवा गर्दै सङ्गठन सुदृढीकरणमा लाग्नुपर्नेजस्ता सुझाव दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *