राजनीति

नेकपा एमाले र एकीकृत समाजवादीबीच एकता हुन लागेको हो ? (भिडियो रिपोर्टसहित)

२०७९ पुष १५ गते २१:१७
नेकपा एमाले र एकीकृत समाजवादीबीच एकता हुन लागेको हो ? (भिडियो रिपोर्टसहित)

१५ पुस २०७९ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता गर्ने गरी नेकपा एकीकृत समाजवादीलाई सरकारमा ल्याउन पहल गरिरहेको चर्चा चलेको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाएर भए पनि पार्टी एकता गर्ने गरी छलफल भैरहेको समेत कतिपयले सुनाउन थालेका छन् । तर यी दुवै पार्टीका दोस्रो तहका नेताहरुले भने पार्टी एकता गर्ने दिशामा कुनै छलफल नभएको दाबी गर्छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनअघि एमालेलाई पहिलो पार्टी बनाउने र एकल बहुमत ल्याउने दाबी गर्नु भएको थियो । तर निर्वाचन नतिजा ओलीले दाबी गरे अनुकुल आएन, उहाँको दल दोस्रो बन्न पुग्यो ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन नटुटेको भए यतिबेला नेकपा एमाले सत्ता बाहिर रहने निश्चित थियो । कांग्रेस नेतृत्वको गठबन्धन टुटेसंगै फेरि राजनीतिक समीकरण ओली अनुकुल बन्दै गएको छ । प्रतिनिधिसभामा दोस्रो भएको एमालेलाई अझै पनि पहिलो दल बनाउने र शक्तिशाली अध्यक्ष बन्ने ओलीको भित्री चाहना अहिले पनि रहेको कतिपयको भनाइ छ ।

एमालेलाई पहिलो दल बनाउनकै लागि ओलीले एकीकृत समाजवादीसँग पार्टी एकता गर्न चाहेको र त्यसका लागि पहल सुरु गरेको बताइएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाएर भए पनि सरकारमा सहभागी गराउने र पार्टी एकता गर्नेसम्मको पहल भैरहेको गाइगुई सुनिन थालेको छ ।

पहिलो दल बनेमा माओवादीसँगको गठबन्धन टुटे पनि सहज रुपमा सरकारमा पुग्ने भर्याङ निर्माणका लागि ओली प्रयत्नरत रहेको जानकार बताउँछन् । अहिले एमालेसँग ७८ सिट छ । एकीकृत समाजवादीसँग एकीकरण गरे १० सिट थपिन्छ भने केही स्वतन्त्र सांसदलाई पार्टी प्रवेश गराएर ८९ सिटको नेपाली कांग्रेसभन्दा ठूलो दल बन्ने एमालेको तयारी रहेको चर्चा छ ।

तर दुवै दलका दोस्रो तहका नेताहरु भने पार्टी एकताको पहलको चर्चा निराधार रहको दाबी गर्छन् । एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले अहिले हल्ला गरिएजस्तो पार्टी एकता सम्भव नभएको दाबी गर्नु हुन्छ ।

हिजो आफ्नै पार्टीको सरकार ढाल्न भूमिका निर्वाह गरेका एकीकृत समाजवादीका नेताहरुले कमजोरी स्वीकार नगरी पार्टी एकताका लागि छलफल नै हुन नसक्ने उपमहासचिव ज्ञवालीको तर्क छ । एकीकृत समाजवादीका नेताहरु पनि नेकपा एमालेसंग पार्टी एकताका लागि कुनै औपचारिक छलफल नै भएको दाबी गर्छन् । एमालेसंग संवाद नै नभएको अवस्थामा पार्टी एकता हुने चर्चा गरिरहनुको कुनै अर्थ नभएको एकीकृत समाजवादीका नेताहरुको भनाइ छ ।

सरकारमा सहभागी हुने नहुने भन्ने बिषयमा आफ्नो पार्टीले निर्णय गरिनसकेको एकीकृत समाजवादीका नेताहरुको भनाइ छ । विगतमा एक अर्का विरुद्ध कडा आलोचना गरेका एमाले र एकीकृत समाजवादीका नेता कार्यकर्ताहरुको अहिले पनि मन माझिएको छैन । तर वर्तमान राजनीतिक समीकरणको अवस्थाले भने दुवै दललाई एक अर्कासंग मिल्नुपर्ने बाध्यता भने बुझैकै देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्