राजनीति

बागमती प्रदेश : कांग्रेसमा किचलो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष १५ गते २१:१०
बागमती प्रदेश : कांग्रेसमा किचलो (भिडियो रिपोर्टसहित)

१५ पुस २०७९ काठमाडौं । राजनीतिक समीकरणमा फेरबदल आउँदा तत्काललाई सबैभन्दा बढी घाटा नेपाल कांग्रेसलाई भएको छ । अहिले संघ र प्रदेशमा ठूलो पार्टी कांग्रेस सबैतिर प्रतिपक्ष दल बन्नुपरेको छ ।

कांग्रेस नेता–कार्यकर्ताले पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धन जोगाउन नसकेको आरोप लगाउँदै आएका छन् । संघीय राजधानीसमेत रहेको बागमती प्रदेशमा सबैभन्दा ठूलो दल रहेको कांग्रेसमा किचलो पनि सुरु भएको छ ।

संघमा जस्तै बागमती कांग्रेसमा पनि किचलो सुरु भएको छ । फरक यति हो कि, केन्द्रीय समितिमा संस्थापन र संस्थापनइतरको किचलो हुँदा बागमतीमा पनि संस्थापनभित्रै आरोप–प्रत्यारोप सुरु भएको छ । कांग्रेसको केन्द्रीय राजनीतिमा स्थापित हुदैगरेकी महालक्ष्मी उपाध्याय डीना र केन्द्रीय राजनीतिमा स्थापित हुने चाहना बोकेका इन्द्र बानियाँबीचको टकराव फेरि देखिन थालेको छ ।

यी दुबै नेता संस्थापन पक्षका हुन् । यहाँ बहादुरसिंह लामा पनि अर्को खेमाको नेतृत्व गर्न आइपुग्नुभएको छ । उहाँ पनि देउवानिकट मानिनुहुन्छ । १ सय १० सदस्य रहको बागमती प्रदेशसभामा कांग्रेससँग ३७ सांसद छन् । अघिल्लो निर्वाचनमा एमाले ठूलो दल थियो भने अहिलेको निर्वाचनले कांग्रेसलाई ठूलो दल बनायो ।

कांग्रेस नेतृत्वको पुरानो गठबन्धन कायम रहेको भए अहिले कांग्रेस आफ्नै नेतृत्वमा बागमती सरकार बनाउने तरखरमा हुन्थ्यो । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोटको बार्दली पुगेपछि मुख्यमन्त्री बन्ने कांग्रेस नेताको चाहना अन्यत्र जस्तै पुरा हुन सकेन । तर बागमती कांग्रेसमा किचलो कायमै छ । मकवानपुर जिल्लाको राजनीतिले प्रदेशकै राजनीतिलाई प्रभावित पारेको छ ।

प्रदेश सभापति इन्द्रबहादुर बानियाँले नै मंसिर ४ को निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेकी पार्टीकी सहमहामन्त्री डीनालाई हराउन भूमिका खेलेको यो समूहका नेताहरुले आरोप लगाउने गरेका छन् । डीना मात्र होइन, प्रदेशसभा १ ९२० का उम्मेदवार आनन्दराम पराजुली पनि सभापति बानियाँकै कारण पराजित बनेको आरोप छ । बानियाँविरूद्व पार्टी केन्द्रीय कार्यालय अनुशासन समितिमा १६ मंसिर २०७९ मा उजुरी समेत परेको छ । उजुरी १८ मंसिरमा पार्टी केन्द्रीय कार्यालयमा ६५ नम्बरमा दर्ता भएको छ ।

उजुरीमा डीनासँग प्रतिस्पर्धा गरेका राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहसँग आर्थिक लाभ लिएको बानियाँमाथि आरोप छ । कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न माग गरिएको छ ।

उजुरीमा नेता बानियाँ मात्र नभई कांग्रेस मकवानपुरका सभापति बुद्व लामा र प्रतिनिधिसभा क्षेत्र नम्बर १ (२) का सभापति तथा हेटौँडा उपमहानगरका उपमेयर राजेश बानियाँलाई पनि साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न माग गरिएको छ । यो आरोपबारे सभापति बानियाँले कुनै प्रतिक्रिया दिनुभएको छैन ।

बरु केन्द्रीय समीकरणमा कांग्रेस बलियो रहँदा मुख्यमन्त्रीमा सशक्त दाबेदारी राख्दै आउनुभयो । बानियाँसँग नुवाकोट क्षेत्र नम्बर २ को प्रदेशसभा २ बाट निर्वाचित बहादुरसिंह लामाले प्रतिष्पर्धा गर्नुभयो । अहिले उहाँ नै बानियाँलाई हराउँदै बागमती कांग्रेसको संसदीय दलको नेता हुनुहुन्छ । तर, केन्द्रीय समीकरणमा आएको फेरबदलसँगै उहाँको हालका लागि मुख्यमन्त्री बन्ने सपना अधुरै रह्यो । पार्टीको पद हत्याउन कुनै कसर बाँकी नराख्ने कांग्रेस नेताहरु विवाद मिलाउन वास्तै गर्दैनन् । उल्टै पार्टीमा गुटै नभएको कांग्रेस नेताहरु दाबी गर्छन् ।

बागमतीमा एमालेलाई पछी पार्दै यसपाली पहिलो दल बनेको नेपाली कांग्रेस गुट र पार्टी भित्रैको अन्तरद्वन्द्वका कारण विवादित बनेको छ । दल भित्रै इगो साधेर किचलो कायमै राखे आगामी दिनमा कांग्रेस कमजोर बन्ने जानकारको बुझाइछ ।

आन्तरिक कचलो बढ्दै जाँदा बागमती कांग्रेसमा केन्द्रीय नेताहरु नै नाङ्गो देखिएका छन् । प्रदेश सभापति बानियाँलाई संसदीय दलमा हराउन सहमहामन्त्री डीना खुलेर लाग्दा संसदीय दलका नेता लामालाई पराजित गर्न पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी सहित नेता खुलेरै लागि परे । यही किचलोले कांग्रेसको भविष्यमा चिन्ता राख्ने कार्यकर्ताहरु बढेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्