Main News

आम नागरिकलाई सिंहदरबार प्रवेश गर्नै कठिन (भिडियो रिपोर्टसहित)

२०७९ पुष १३ गते २०:३६
आम नागरिकलाई सिंहदरबार प्रवेश गर्नै कठिन (भिडियो रिपोर्टसहित)

१३ पुस २०७९ काठमाडौं । नागरिकलाई हिंडडूलको स्वतन्त्रता छ । तर, ति सुरक्षाको बहानामा भनेको ठाउँमा जान पाउँदैनन् । राज्यले त सुरक्षा प्रबन्ध गरेर बिना हैरानी नागरिकलाई सरकारी अड्डा–अदालत सहजै छिर्न दिनुपर्ने हो नि ।

तर, डरपोक शासक तारबारले घेरिएर नागरिकको हुर्मत लिएर आफ्नै मात्र सुरक्षा गरिरहेका छन् । पत्याउनु भएन् रु देशकै मुख्य प्रशासनिक परिसरको मुख्य गेटमा नागरिकलाई गरिने व्यवहार हेरेपछि पक्कै पत्याउनु हुन्छ ।

देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको यो दक्षिण गेट । सिंहदरबार प्रवेशका लागि अरु गेट पनि छन् । तर, आवत–जावतमा बढि यही चल्तीमा छ । बुधबार एक बजेतिर हामी पुग्दा पनि यो गेटमा उस्तै चहल–पहल र ओहोर–दोहोर थियो ।

दिउँसो एक बजेतिर गेट आसपासमै भेटिए सिरहा बरहथवाका राम सोगारथ महतो । जसलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जानु थियो । तर, कसरी थाह छैन ।

सिंहदरबार छिर्न फोन गरेर पास मगाउनु पर्ने थाहा भएपछि महतो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पास पाइने झ्याल नम्बर १ मा गए । तर, बन्द थियो । अनि, दुईमा गए । र, पास पठाइदिन अनुरोध गरे ।

पास आयो कि भनेर महतो पटक–पटक झ्यालमा गए । तर, आएन । महतोले फेरि फोन गरे । दोस्रो प्रयास पनि निरर्थक रह्यो । पास नआएपछि प्रहरी गुहारे, विन्तिभाउ गरे ।

न भित्रबाट पास आयो । न प्रहरीले छिर्न दियो । करिब एक घण्टाको माथापच्चीपछि महतो निरास भएर फर्किए ।

सिंहदरबारको यो गेटमा आएर हैरानी व्यहोर्ने महतो बुधबारका एक्लो पात्र हुँदै होइनन् । महतोजस्ता कैयौं पात्र भेटिन्छन् दिनदिनै ।

कतिका लागि त यो गेट सधैं खुला हुन्छ । पहुँच हुने पास मगाएर जान्छन् । तर, सर्वसाधारण चाहिँ गेटमै रोकिन्छन् । राज्यले एउटा गेटमा पनि नागरिकलाई न्याय गर्न सकेको छैन ।

सशस्त्र युद्धको राप र ताप बढ्दै जाँदा २०५६ सालतिरबाट सिंहदरबार प्रवेशमा कडाई गर्न थालिएको थियो । द्वन्द्व सकिएकै करिब दुई दशक हुन लाग्यो । द्वन्द्वको एउटा पक्ष माओवादीले चार–चारपटक सत्ता सम्हालिसक्यो । सबैलाई समान गरिने भनिएको व्यवस्था, गणतन्त्र पनि आयो । तर, सर्वसाधारणका लागि सिंहदरबारका ढोका अझैं पूर्णरुपमा खुलेका छैनन् । किन ? सरकारी अधिकारीसँग बनिबनाउँ उत्तर छ, ‘सुरक्षाका कारण’ ।

केन्द्रीय प्रशासनिक परिसरमै सहजै नागरिक प्रवेश गर्न सक्ने तहको सुरक्षा प्रबन्ध छैन भने अन्यत्र के होला ? र, नागरिकले कुन हदको हैरानी खेपिरहेका होलान् ? केही फरक गर्छु भनेर आएका नयाँ गृहमन्त्रीले यसमा ध्यान दिन्छन् कि आश गरौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *