Main News

ओली किन पुगे खुमलटार ? माधव नेपाल एमालेमा फर्किदैछन् ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष १३ गते २०:३०
ओली किन पुगे खुमलटार ? माधव नेपाल एमालेमा फर्किदैछन् ? (भिडियो रिपोर्टसहित)

१३ पुस २०७९ काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाएपछि एमालेका अध्यक्ष केपी फेरि राष्ट्रिय राजनीतिको केन्द्रमा परेका छन्। र, नयाँ सरकारका सुत्राधार ओलीको दौडधुप पनि बढेको छ।

चरम आलोचक दाहालले नेता स्वीकारेपछि ओली पनि प्रतिशोधको व्यवहारबाट समन्वयतिर लागेको छनक मिल्न थालेको छ। आजको खुमलटार भेटले त्यही संकेत गर्छ ।

पहिलोपटक संसद विघटन गर्नु अघिल्लो दिन २०७७ पुस ४ गते साँझ प्रचण्ड निवास पुग्दा ओली प्रधानमन्त्री थिए। र, त्यसको ठीक दुई वर्ष ९ दिनपछि आज बुधबार ओली प्रचण्ड निवास नै पुग्दा दाहाल प्रधानमन्त्री भइसकेका छन्।

दुई वर्षको तिक्त सम्बन्ध टुंग्याउँदै फेरि यि दुई नेता दोस्तीको चरणमा प्रवेश गरेका छन्।

ओली खुमलटार पुग्दा प्रधानमन्त्री दाहालकी पुत्री गंगाले पुष्पगुच्छा टक्क्रइन। र, दाहालले मुस्कुराउँदै कसिलो गरी हात मिलाएर संघारमा स्वागत गरे।

त्यसपछि ओली–दाहाल उक्लिए कौशीमा। ओलीलाई मात्र होइन, सूर्य अर्थात् एमाले जागेर सत्ता हात पारेका दाहाललाई झनै आवश्यक छ, अब सूर्यको राप। त्यसमाथि मध्यपुसको जाडोमा धाम कसलाई प्यारो नहोस्।

सुन्तलाका दाना टिपेर सहयोगीहरु छेउ लागे। दाहाल पुत्री गंगा पनि बाहिरिएपछि दुई नेताले एकान्त पाए। र, उनीहरुले सरकार, भागवण्डा र दुई पार्टी सहकार्यका कुरा गर्दै साढे २ घण्टा बिताए।

केही बेर कौशीमा बसेपछि उनीहरु झरेर कोठा पसेका थिए ।

दुई वर्षमा केपी र प्रचण्डबीच सार्वजनिकरुपमा भएको यो चौथो भेट हो।

पहिलो– २०८७ माघ २३ः निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासहित एमसीसीबारे समान धारणा बनाउन
दोस्रो– २०७८ फागुन १२ः एमसीसी के गर्ने भन्नेबारे संसद भवन नयाँ बानेश्वरमा दुबै दलका नेताबीच छलफल
तेस्रो– २०७९ पुस १०ः दाहाल कांग्रेस नेतृथ्वको गठबन्धन छोडेर नयाँ सरकार बनाउन छलफल गर्न बालकोट पुग्दा
चौथो– २०७९ पुस ११ः दाहालले शीतल निवासमा प्रधानमन्त्रीको सपथ लिँदा

प्रधानमन्त्री दाहाल एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउने तयारीमा छन्। र, दाहाललाई त्यसको अन्तिम इजाजत ओलीबाट लिनुपर्ने बाध्यता छ। सरकारबारे छलफल र ओलीसँग सम्बन्ध सुधारका लागि दाहालले माधव नेपाललाई पनि खुमलटारमा निमन्त्रणा गरेको बताइएको थियो। तर, ओली र दाहालको छलफलमा नेपाल मिसिएनन्।

ओली र नेपालबीच केहीपटक गोप्य छलफल भइसकेको र कुराकानी सरकार सहभागिताभन्दा एमालेसँग एकतातर्फ नै केन्द्रित हुन थालेको बताइन्छ। एमाले र माओवादी केन्द्रको एउटा समूह पनि सुध्रिन लागेको सम्बन्धलाई एकीकरणकै तहमा पु-याउन सक्रिय छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *