Main News

कसरी भयो कांग्रेसको हालत : माछो माछो, भ्यागुतो ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष १३ गते २०:१८
कसरी भयो कांग्रेसको हालत : माछो माछो, भ्यागुतो ? (भिडियो रिपोर्टसहित)

१३ पुस २०७९ काठमाडौं । संसदमा सबैभन्दा ठुलो दलको रुपमा उदाएको नेपाली कांग्रेस निक्कै उत्साही थियो । मंसिर ४ को निर्वाचन परिणामले दिएको उत्साहको आयु भने केही दिन मात्र रह्यो । नयाँ सरकार बनाउने भन्दै उत्साही कांग्रेस अन्तिममा माछामाछा भ्यागुतो हुन पुग्यो ।

पुस ६ गते भएको कांग्रेस संसदीय दलको नेता छान्ने चुनाव, ुप्रत्यक्ष प्रधानमन्त्री चयनुको चुनाव जस्तै थियो । देउवाले दलको नेता जित्दा प्रधानमन्त्रीमा नवीकरण हुने र देउवालाई मत दिँदा मन्त्री पद पाइने भावयुक्त माहोल थियो, संसदीय दलको कार्यालय सिंहदरबारमा ।
दलको नेताको नतिजासँगै देउवालाई मत नदिएका वा गगन थापा पक्षका सांसदहरु प्रतिपक्षी जस्ता देखिन्थे, जसले सरकारमा जाने अवसर गुमाएको भागभंगी देखाइरहेका थिए ।

तर प्रकारान्तरले संसदकै सबैभन्दा ठूलो दल कांग्रेस समग्र रुपमै प्रतिपक्षमा पुगेको छ । यसको दोष प्रमुख रुपमा संसदीय दलका नेता तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको टाउकामा आइलागेको छ ।

ठुलो रस्साकस्सीबीच संसदीय दलको नेता बनेपछि प्रधानमन्त्री हुने देउवा र मन्त्री बन्ने अरु धेरैको सपना अधुरै हुन पुगेको छ भने गठबन्धन बचाउन नसकेपछि आलोचना मात्र होइन विशेष महाधिवेशन बोलाउन माग गरिएको छ र देउवाको राजीनामासमेत मागिदैछ । स्वभाविक रुपमा प्राप्त अवसर गुमेको विषयलाई सामान्य रुपमा लिन नहुने भन्दै कांग्रेसको इतरसमूहले सभापति देउवामाथि निशाना साँध्ने तयारी गरेको छ ।

तर, देउवा पक्ष सभापतिलाई मात्र गाली गरेर संस्थापनइतरपक्ष पानी माथिको ओभानो हुन नसक्ने तर्क गर्छ । आइसकेको सत्ताको तालाचाबी खोसिनुमा सभापतिलाई मात्र कारक मान्न नहुने उनीहरुको जिकिर छ । अहिलेको अवस्था आउनुमा पार्टीका अरु पदाधिकारी र संस्थापनइतर समूहले पनि जिम्मेवारी लिनुपर्ने देउवा पक्ष बताउँछ ।

कांग्रेस संसदीय दलमा गगन थापाको उम्मेदवारीपछि देउवाले दलको नेता हुन राम्रै तयारी गर्नुभयो । तर, त्यसपछि नयाँ सरकार बनाउने तयारीमा भने देउवा कमजोर देखिनुभयो । देउवामा आफ्नो विकल्प नभएको आत्मविश्वास र पत्नी आरजुसहित विश्वासपात्रहरु प्रकाशशरण महत, ज्ञानेन्द्र कार्कीसँग धेरै भर गर्दा कांग्रेस नराम्ररी चिप्लिएको आरोप पार्टीभित्रैबाट लाग्न थालेको छ ।

उसो त संसदीय दलमा पछि परेको संस्थापनइतर समूह देउवालाई प्रधानमन्त्री बनाउन उत्सुक हुने कुरै थिएन । न त देउवाले नै नयाँ सरकार बनाउने छलफल र वार्तामा इतर पक्षलाई भूमिका नै दिनुभयो । सरकार बनाउन चुकेको विषयले कांग्रेसभित्र अहिले आरोप प्रत्यारोप जारी छ ।

शुक्रबार बस्ने कांग्रेस केन्द्रीय समिति बैठकमा पछि यसबारे छलफलको कार्यसूची छ । संस्थापनइतर पक्ष बैठकमा सभापतिको राजीनामा माग्ने तयारीमा जुट्दा संस्थापनसमूह पनि सभापतिको बचाउको गृहकार्यमा छ । आफ्नै कारणले माछो माछो भ्यागुतो भएको कांग्रेसभित्रको विवाद मत्थर हुन्छ वा थप चर्किएर जान्छ ? केन्द्रीय समितिको बैठकसम्म कुर्नैपर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *