Main News

कर्णाली प्रदेश सरकार– मुख्यमन्त्री यामलाल कँडेल कि राजकुमार शर्मा ? (भिडियो रिपोर्टसहित)

२०७९ पुष १३ गते १८:१८
कर्णाली प्रदेश सरकार– मुख्यमन्त्री यामलाल कँडेल कि राजकुमार शर्मा ? (भिडियो रिपोर्टसहित)

१३ पुस २०७९ सुर्खेत । केन्द्रमा नेकपा एमालेसहितको सात दलीय गठबन्धन बनेसँगै कर्णालीमा मुख्यमन्त्रीको बहस सुरु भएको छ ।

कर्णालीमा अहिले सत्ताको नेतृत्व सम्हालेको कांग्रेस प्रमुख प्रतिपक्षी दल हुनेछ। मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच प्रतिष्पर्धा सुरु भएको छ ।

केन्द्रमा माओवादी, एमालेलगायतका दलहरूको सत्ता समीकरण बनेसँगै कर्णाली प्रदेशको सबैभन्दा ठूलो पार्टी कांग्रेस सत्तारोहणबाट बञ्चित भएको छ । कर्णालीमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संयुक्त सरकार बन्ने सम्भावना छ ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा माओवादी, एमाले र राप्रपासँग स्पष्ट बहुमत छ । माओवादी केन्द्रसँग १३, एमालेसँग १० र राप्रपासँग १ सांसद छन् । तीनै दल मिल्दा २४ सांसद हुन्छन् जुन सरकार गठनमा पर्याप्त संख्या हो । कुल ४० सीट रहेको कर्णालीमा बहुमतका लागि २१ सीट आवश्यक पर्छ ।

यहाँ कांग्रेस १४ सीटसहित पहिलो दल हो भने १३ सीट सहित माओवादी दोस्रो ठूलो दल हो । केन्द्रमा बनेको वर्तमान सत्ता गठबन्धनभित्र भने माओवादी केन्द्र पहिलो दल हो । एमालेको १० सीट रहेको छ । तर, सत्तारुढ एमाले र मा‍‍‌ओवादी केन्द्रबीच सरकारको नेतृत्व कसले गर्ने भन्नेमा सहमति जुटेको छैन । प्रदेशमै दोस्रो ठूलो दल बनेकाले माओवादीले सरकारको नेतृत्वमा दावी गरेको छ।

एमाले अहिले कर्णाली प्रदेशसभामा तेस्रो शक्ति हो । पहिलो प्रदेशसभा निर्वाचनमा कर्णालीका ४० मध्ये २० सिट जितेको एमालेले कर्णालीमा सरकारमा नेतृत्व गर्न पाएन । प्रदेश इन्चार्जसमेत रहेका यामलाल कँडेलले मुख्यमन्त्री बन्न धेरै प्रयत्न गरेपनि सफल हुन सकेनन् ।

केन्द्रमा तत्कालीन एमाले र माओवादीबीच भएको भागबण्डामा कर्णाली माओवादी केन्द्रको भागमा पर्यो । त्यसैले पनि अहिले कर्णालीमा एमालेले दावी छ । पहिलो प्रदेश संसदमा माओवादीकै कारण मुख्यमन्त्री हुनबाट बन्चित हुनुभएका कँडेल यस पटक माओवादीकै समर्थनमा मुख्यमन्त्री हुने आशमा हुनुहुन्छ ।

एमालेले संसदीय दलको नेतामा कँडेललाई सर्वसम्मत चयन गरेको छ भने माओवादीबाट राजकुमार शर्मा सर्वसम्मत भएका छन् । अब भागवण्डा अनुसार यी दुई मध्ये एक मुख्यमन्त्री बन्नेछन् । बुधबार एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफल अनुसार कर्णालीको नेतृत्व एमालेले गर्ने लगभग निश्चित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *