Main News

बालुवाटार : प्रधानमन्त्रीको सरकारी निवास कि पार्टी कार्यालय ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष १२ गते २१:०६
बालुवाटार : प्रधानमन्त्रीको सरकारी निवास कि पार्टी कार्यालय ? (भिडियो रिपोर्टसहित)

१२ पुस २०७९ काठमाडौं । देशकै प्रमुख कार्यकारी रहने प्रधानमन्त्रीका लागि सरकारी निवासको व्यवस्था गरिएको हुन्छ । कुनै दलमा आवद्ध रहे पनि प्रधानमन्त्री बनिसकेपछि उसको भूमिका साझा हुन्छ । तर, प्रधानमन्त्री बन्नेहरुले आफ्नो पदको गरिमा भुल्दा सरकारी निवास पार्टी कार्यालय सरह बनिरहेको छ ।

गणतन्त्रपछिका प्रधानमन्त्रीहरु सरकारी निवास बालुवाटारलाई कहिले पार्टी कार्यालय त कहिले पार्टी प्यालेस बनाएको भन्दै आलोचित छन् । सबैभन्दा धेरै आलोचित तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली हुनुभयो । नेताको बर्थ डे सेलिब्रेसनदेखि पार्टीका सबैजसो बैठक बालुवाटारमै भयो ।

सरकारी खर्चमा सञ्चालन हुने बालुवाटारमा जनताले तिरेको कर पार्टीका नेताकार्यकर्ताको भोजभतेरमा खर्च भएको भन्दै धेरैले आलोचना पनि गरे । तर, ओली कार्यकालभर बालुवाटार कहिले पार्टी कार्यालय त कहिले पार्टी प्यालेस बनिरह्यो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको झन्डै साढे ४ सय जनाको केन्द्रीय कमिटी बैठक नै ओलीले बालुवाटारमा राखेपछि चर्को विरोध भयो ।

ओलीले बालुवाटार दुरुपयोग गरेकोमा चर्को आलोचना गरिरहेको कांग्रेसले सरकारको नेतृत्व गर्‍यो । तर, कांग्रेसबाट प्रधानमन्त्री भएका शेरबहादुर देउवाले पनि उही प्रवृत्ति दोहोर्‍याउनु भयो। २०७८ असार २९ मा प्रधानमन्त्री बनेको केही घण्टामै देउवाले बालुवाटारमै पदाधिकारी बैठक राख्नुभयो ।

कांग्रेसको १४औं महाधिवेशन केन्द्रित बैठक भोलिपल्ट पनि बालुवाटारमै बसेपछि पार्टीभित्रै र बाहिरबाट पनि आलोचना भयो । ततकालिन केन्द्रीय सदस्य गगन थापाले त पार्टीको बैठक बालुवाटारमा नगर्न ध्यानाकर्षण नै गराउनुभयो । त्यसलगत्तै साउन ८ गते कांग्रेस पदाधिकारी बैठक बालुवाटारबाट देउवा निवास बुढानिलकण्ठ बस्यो । कांग्रेसले पार्टीको बैठक बालुवाटारमा नगर्ने बतायो ।

तर निर्णयको पालना भएन् । एउटा बैठक बुढानीलकण्ठ र कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा बसे पनि देउवाले आफ्नो गुट भेला र गठबन्धनको बैठक बालुवाटारमै राखिरहनु भयो । मंसिर ४ मा प्रतिनिधिसभाको निर्वाचनमा जानुअघि दर्जनौं पटक त्यस्ता बैठकहरु बालुवाटारमै भयो ।

प्रतिनिधिसभा निर्वाचनको परिणाम आएलगत्तै प्रधानमन्त्री देउवाले सरकारी निवास बालुवाटारमै कांग्रेसबाट निर्वाचित सांसदहरुका लागि दिवा भोजको आयोजना गर्नुभयो । बालुवाटारमा बैठक गर्दा बत्ती, पानीदेखि खाजा खर्च सरकारी ढुकुटीबाटै हुन्छ । खाना, खाजा खाएको बिल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आउने गर्छ । त्यसैले सरकारी कामकाजमा बाहेक राज्यकोषको खर्च हुनु सरकारी स्रोतको दुरुपयोग मानिन्छ । प्रधानमन्त्रीले बालुवाटारको दुरुपयोग गर्दा आलोचना भए पनि कसैले सुनेनन् ।

नयाँ प्रधानमन्त्रीका रुपमा अहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आगमन भएको छ । तर, देउवाले बालुवाटार निवास छाडि नसकेकाले प्रचण्ड अहिले खुमलटार निवासमै बसिरहनु भएको छ । प्रधानमन्त्री नियुक्त भएलगत्तै बालुवाटारमा भड्किलो सामान खरिद नगर्न प्रचण्डले निर्देशन दिनुभएको छ ।

जसलाई सकारात्मक शुरुवातका रुपमा हेरिएको छ । तर, बालुवाटारको दुरुपयोग गर्ने पछिल्ला प्रधानमन्त्री ओली र देउवा सत्तामा हुँदा मुख्य साझेदार प्रचण्ड नै हुनुहुन्थ्यो । प्रचण्डको कार्यकालमा बालुवाटार दुरुपयोगको श्रृंखलामा पूर्णविराम लागोस भन्ने धेरैले चाहेका छन । बुधबार देउवाले बालुवाटार छाडेपछि प्रचण्डको प्रवेश हुन्छ । बेथिति भत्काउने उद्घोष गरेका प्रचण्डले त्यसको शुरुवात बालुवाटारबाटै गर्नु सक्नुहोस ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *