राजनीति

सत्ता समीकरण फेरिएपछि कुन प्रदेशमा को मुख्यमन्त्री ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष ११ गते २०:४१
सत्ता समीकरण फेरिएपछि कुन प्रदेशमा को मुख्यमन्त्री ? (भिडियो रिपोर्टसहित)

११ पुस २०७९ काठमाडौं । चुनावी भाषणका क्रममा १५ वर्षसम्म कायम रहने भनिएको गठबन्धन टुटेसँगै सातै प्रदेशमा नयाँ समीकरण बन्ने भएको छ ।

प्रमुख प्रतिपक्षी बन्ने तयारीमा रहेको नेकपा एमाले एकाएक शक्तिमा उदाउँदा सात प्रदेशको समीकरणको अंकगणितले वाम दललाई फेरि शक्तिशाली बनाइदिएको छ । कुन प्रदेशमा को मुख्यमन्त्री बन्ने सम्भावना छ त ? हेरौं यो सामग्री ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद आफैले राख्ने हठ गर्दा यी दुई मात्र होइन राजकीय सत्ताका अधिकांश अवसरहरु गुमाउनु पुग्यो । केन्द्रमा सबै पदबाट बञ्चित भएको कांग्रेसले प्रदेश सरकारहरु पनि गुमाएको छ । अब प्रदेशहरुमा पनि एमाले नेतृत्वकै गठब्नधनका दलहरुबीच भागवण्डा हुनेछ ।

सातै प्रदेशमा एमाले, माओवादी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति र जनमत पार्टी सम्मिलित सरकार बन्ने छ । नयाँ गठबन्धनका लागि प्रदेशहरुको अंक गणित कस्तो छ त ?

प्रदेश– १
यसअघि जसपाको एक सिट निर्णायक रहेको प्रदेश(१ मा एमालेले सहजै मुख्यमन्त्री पाउने देखिएको छ । ९३ सदस्यीय देशसभामा सरकार बनाउन ४७ सांसदको समर्थन आवश्यक हुन्छ ।

प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ गरी ४० सीट प्राप्त गरेको एमालेलाई अब १३ सिटको माओवादी, ६ सिटको राप्रपा र एक सिटको जसपाले साथ दिनेछ । जुन संख्या ६० हुन्छ । कांग्रेसको २९ सिट रहेको छ । एकीकृत समाजवादीको चार सिट छ ।

प्रदेश-१ मा एमालेबाट संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्रीको दाबेदार हुनुहुन्छ भने माओवादीबाट इन्द्रबहादुर आङ्बोको पनि दाबेदारी देखिएको छ ।

मधेस प्रदेश
१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि ५४ सांसद आवश्यक पर्छन् । यो प्रदेशमा २३ सांसदसहित एमाले पहिलो र २२ सांसद रहेको कांग्रेस दोस्रो ठूलो दलका रुपमा छन् । जसपा १६, जनमत पार्टी १३, लोसपा ९, माओवादी केन्द्र ८ र एकीकृत समाजवादीसँग ७ सांसद छन् ।

६ स्वतन्त्र, २ राप्रपा तथा संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक(एक सांसद रहेको यो प्रदेशमा एमाले नेतृत्वको गठबन्धनमा ६३ सांसद पुगेका छन् । राजनीतिक भागवण्डाका आधारमा जसपाले सरकारको नेतृत्व गर्न पाउने सम्भावना हुँदा लालबाबु राउत नै मुख्यमन्त्रीका रुपमा दोहोरिन सक्नु हुन्छ । त्यसो त यो प्रदेशमा सबैभन्दा ठूलो दल एमाले तथा १३ सांसद रहेको जनमत पार्टीलेसमेत मुख्यमन्त्रीमा दाबी गर्ने सम्भावना छ ।

बागमती प्रदेश
यसअघि वागमती प्रदेशमा सत्ता गठबन्धनसँग सरकार बनाउन सुविधाजनक बहुमत थियो । नयाँ समीकरणले यहाँको अङ्कगणित पनि फेरिएको छ । १ सय १० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सीट आवश्यक पर्छ । यहाँ कांग्रेससँग ३७,एमालेसँग २७, माओवादी केन्द्रसँग २१, राप्रपासँग १३, एकीकृत समाजवादीसँग ७ ,नेमकिपासँग ३ र हाम्रो नेपाली पार्टीसँग २ सांसद छन् । बागमतीको मुख्यमन्त्रीमा नयाँ गठबन्धनबाट माओवादीका शालिकराम जमरकट्टेल प्रमुख दाबेदार देखिनुभएको छ । एमालेका जगन्नाथ थपलिया पनि दाबेदार हुनुहुन्छ ।

गण्डकी प्रदेश
गण्डकी प्रदेशमा पहिलो दलका रुपमा कांग्रेसका २७ सांसद छन् भने एमालेसँग २२ र माओवादी केन्द्रसँग ८ सांसद छन् । राप्रपाका २ र एकीकृत समाजवादीका १ सांसद छन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसदको आवश्यकता हुन्छ । यहाँ सत्तारुढ एमाले माओवादी र राप्रपाको अंकभार ३२ छ । यो नयाँ सरकार बनाउन पुग्ने संख्या हो । यहाँ एमालेका खगराज अधिकारी मुख्यमन्त्रीको प्रवल दाबेदार हुनुहुन्छ । माओवादीका हरिबहादुर चुमान पनि मुख्यमन्त्रीको दाबीमा हुनुहुन्छ ।

लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशको ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ । यहाँ एमाले २९, कांग्रेस २७, माओवादी ९, राप्रपा ४, जसपा ३, लोसपा ३, नागरिक उन्मुक्ति ४, जनमत ३, स्वतन्त्र ३, नेकपा एकीकृत समाजवादी १ र जनमोर्चाको १ सिट छ । नयाँ समीकरणअनुसार यहाँ सांसद संख्या ५२ पुग्छ । यो नयाँ सरकारका लागि सहज बहुमत हो । लुम्बिनीमा एमालेका लिला गिरी मुख्यमन्त्रीको प्रमुख दाबेदार देखिनुभएको छ ।

कर्णाली प्रदेश
४० सदस्यीय कर्णाली प्रदेशसभामा कांग्रेसले १४, माओवादी केन्द्रले १३, एमालेले १० तथा समाजवादी, राप्रपा र स्वतन्त्रले एक(एक सीट जितेका छन् । नयाँ समीकरणअनुसार एमाले, माओवादी र राप्रपाको मतभार २४ पुग्छ । यो नयाँ सरकार बनाउन पर्याप्त संख्या हो । यहाँ एमालेका स्थायी कमिटी सदस्य यामलाल कँडेल र एमालेका कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाह मुख्यमन्त्रीको दाबेदार देखिएका छन्। माओवादीका राजकुमार शर्मा पनि दाबेदार हुनुहुन्छ ।

सुदूरपश्चिम प्रदेश
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा नयाँ समीकरणपछि नयाँ सरकार गठन सहज देखिन्छ । सरकार गठनका लागि २७ सांसद चाहिन्छ । यहाँ कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ सांसद छन् । राप्रपाका १ र एक जना स्वतन्त्र सांसद छन् । यहाँ एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपा मिल्दा २९ हुन्छ । मुख्यमन्त्रीमा माओवादीका खगराज भट्ट प्रमुख दाबेदार देखिनुभएको छ केन्द्रमा एमाले नेतृत्वको गठबन्धन सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले पनि मुख्यमन्त्रीमा दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *